नवलपरासी पश्चिममा अफ्रिकन स्वाइन फिवर (ASF) रोगको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, नवलपरासी (पश्चिम) ले सर्वसाधारणलाई उच्च स्तरको सतर्कता अपनाउन आग्रह गरेको छ। रामग्राम नगरपालिका–२ स्थित हाटबजारमा बिक्री वितरणका लागि राखिएको बंगुरको मासुको नमूना पशु रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा उक्त रोग पुष्टि भएको हो।
रामग्राम नगरपालिका, नगर कार्यपालिकाको कार्यालयले च.नं. १०९०, मिति २०८२।०८।०५ गते जारी गरेको पत्रका अनुसार, अफ्रिकन स्वाइन फिवर अत्यन्तै छिटो फैलिने सक्रामक रोग भएकाले यसले समग्र बंगुर/सुंगुरपालन व्यवसाय नै जोखिममा पार्न सक्ने अवस्था देखिएको छ। यस्तै, रोग नियन्त्रणका लागि नगरपालिकाले त्यही मितिदेखि लागू हुनेगरी बंगुर/सुंगुरको मासु खरिद–बिक्री पूर्ण रूपमा निषेध गर्ने निर्णयसमेत गरेको छ।
जिल्ला प्रशासन कार्यालयले यस निर्णयलाई कार्यान्वयन गर्न सबैलाई सहयोग गर्न आग्रह गर्दै अनावश्यक खतराबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
प्रशासनले बंगुर पालन व्यवसायी, विक्रेता तथा उपभोक्तालाई विशेष सतर्कता अपनाउन, अनधिकृत रूपमा मासु बिक्री नगर्न तथा रोग फैलिन नदिन सम्पूर्ण सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न अपील गरेको छ।















