शाश्वतधाममा बागेश्वरधाम सरकार आगमनकाे तयारी भव्य, अनलाइन बुकिङ्ग खुल्ला

2970

वृजराज कुशवाहा, नवलपरासी ।

नेपाल आउन लागेका भारतका आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) काे स्वागत तथा कथावाचन कार्यक्रमका लागि शाश्वतधाममा वृहत तयारी कार्य अगाडि बढाइएकाे छ ।

भदाै २ गतेदेखि ४ गतेसम्म पुर्वी नवलपरासीकाे चाैधरी उद्याेग ग्राम स्थित शाश्वतधाममा हुने हनुमन्त कथावाचन कार्यक्रमकाे तयारी भव्य रूपमा अगाडि बढेकाे शाश्वतधाम स्थित कार्यक्रम संयाेजक रामचन्द्र धितालले अनलाइनजनतालाइ बताए । उनले भने आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) काे कथावाचन कार्यक्रम भदाै २ गते ४ बजेदेखि शुरू हुने छ । यसका लागि कार्यक्रम स्थल शाश्वतधाममा ११ हजार भक्तजन अट्ने विशाल सभागृहका साथै थप पण्डालकाे व्यवस्था भैरहेकाे बताए ।

उनले अगाडि भने यहाँ आउने भक्तजनहरूकाे सहजताका लागि अनलाइन बुकिङ्गकाे समेत व्यवस्था गरिएकाे छ । अनलाइन बुकिङ्ग गरेर आफ्नाे सहभागिता सुनिश्चित गर्न समस्त भक्तजनमा अनुराेध गर्दछाैं । अनलाइन बुकिङ्गकाे लागि लिंक उपलब्ध गराएका छाैं । यहाँ क्लिक गरेर निशुल्क बुकिङ गर्न सकिन्छ

चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा शाश्वतधाममा ३ दिनसम्म हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् । प्रवचन कार्यक्रम प्रत्येक दिन २ बजे देखि ५ बजे सम्म सञ्चालन हुनेछ ।

भारत मध्यप्रदेश स्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार) काे कथावाचन सुन्न तथा दर्शन पाउनका लागि नवलपरासी जिल्ला लगायत छिमेकी जिल्लाहरूबाट श्रद्धालु भक्तजनहरू पुग्ने तयारीमा जुटेकाे बताइएकाे छ । छतरपुर जान असमर्थ रहेका भक्तजनले नजिकै आउँदै गरेका बागेश्वरधाम सरकारकाे कार्यक्रममा जान लालायित रहेकाे प्रतिक्रियाहरू प्राप्त भैरहेकाे छ ।

नवलपरासीकाे सुस्ताबाट बस रिजर्ब गरि शाश्वतधामकाे यात्रा गराउनका लागि रिजर्ब बसकाे व्यवस्था गरेर जाने इच्छुक श्रद्धालुहरूकाे नामावली संकलन गर्न थालेकाे स्थानीय पिन्टुबाबाले बताए । उनले भने बागेश्वरधाम सरकार नेपाल आउन लागेकाे खबरले स्थानीय खुशी भएका र जानका लागि माध्यम खाेजीरहेकाे बेला आफुले बसकाे व्यवस्था अगाडि सारेकाे बताए ।

त्यस्तै रूपन्देही जिल्लाकाे लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रबाट श्रद्धालुहरू शाश्वत धाम पुग्नका लागि तयारीमा जुटेकाे समाजसेवी श्यामसुन्दर माैर्यले बताए । उनले भने अहिल्यै देखि नै यस कार्यक्रमबारे नेपालका साथै छिमेकी मुलुक भारतकाे सीमावर्ती गाउंघरमा शाश्वतधाम जाने र कथा सुन्ने कार्यक्रमबारे चर्चा हुन थालेकाे छ ।

चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाम नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणकाे केन्द्रकाे रुपमा स्थापित भएकाे छ । बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिंदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रकाे रुपमा विकसित शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन् ।

उनले शाश्वतधाममा कथावाचनमा जानु अगाडि १ भदौमा काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने भएका छन् । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्ने कार्यक्रम छ । भाेलीपल्ट भदाै २ गते ४ बजेदेखि कथावाचनकाे कार्यक्रम सञ्चालन हुने छ ।