बागेश्वरधाम सरकारले शाश्वतधाममा कथावाचन गर्ने

1912

काठमाडौं । भारत मध्यप्रदेश स्थित प्रख्यात धार्मिक केन्द्र बागेश्वरधामका संस्थापक आचार्य धीरेन्द्रकृष्ण शास्त्री (बागेश्वरधाम सरकार)ले नवलपरासीकाे शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने भएका छन् ।

उनले २-४ भदौसम्म नेपालको शाश्वतधाममा हनुमन्त कथावाचन गर्ने चौधरी ग्रुपले जानकारी दिएको छ । बागेश्वरधाम सरकारका नामले चर्चित उनी आध्यात्मिक गुरूका रुपमा परिचित छन् ।

चौधरी ग्रुपद्वारा नवलपुरमा स्थापित शाश्वतधाममा नेपाल सहित भारतीय हिन्दु धर्मावलम्बीको आकर्षणकाे रुपमा रहेको छ ।

बागेश्वरधाम सरकारले सामाजिक सञ्जाल मार्फत भिडियो सन्देश दिंदै पुण्यभूमि नेपालस्थित सनातन धर्मको सर्वाधिक आस्थाको केन्द्रका रुपमा विकसित शाश्वतधाममा हनुमन्त कथा प्रवचनको अवसरलाई यस क्षेत्रका समस्त सनातन धर्मप्रति आस्थावान भक्तजनहरूले उपयोग गर्न आग्रह गरेका छन् ।

चौधरी ग्रुप एवम् सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक बरुण चौधरीको निमन्त्रणामा बागेश्वरधाम सरकारको शाश्वतधाम कथावाचन यात्रा तय भएको चौधरी ग्रुपले जनाएको छ ।

उनले शाश्वतधाममा कथावाचनमा जानु अगाडि १ भदौमा काठमाडौंमा पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । सोही दिन उनी पशुपतिनाथको सन्ध्या आरतीमा समेत सहभागी हुने भएका छन् । त्यसपछि उनी नवलपुरस्थित शाश्वतधाम प्रस्थान गर्ने कार्यक्रम छ ।

बागेश्वर धाम सरकारलाइ नेपाल भ्रमणमा आउन वरुण चौधरीले गएकाे जेठ २२ गतेका दिन बागेश्वर धाम पुगेर दिएकाे निमन्त्रणा स्वीकार गर्दै छिट्टै मिति घोषणा गर्ने बताएका थिए ।