नवलपरासी– नेपाली कांग्रेस नवलपरासीको जिल्ला अनुशासन समितिले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा २२ जना नेता तथा कार्यकर्तामाथि कारबाही सिफारिस गरेको छ।
जिल्लामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र छन्। पार्टीबाट क्षेत्र नम्बर १ मा विनोदकुमार चौधरी र क्षेत्र नम्बर २ मा भीमबहादुर थापा (भरत) उम्मेदवार रहेका छन्। तर केही नेता तथा कार्यकर्ताले पार्टीका उम्मेदवारलाई हराउने उद्देश्यले अन्य दलका उम्मेदवारका पक्षमा मत माग्दै हिँडेको उजुरी परेपछि अनुशासन समितिले कारबाही प्रक्रिया अघि बढाएको हो।
कारबाही सिफारिसमा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री तथा महाधिवेशन प्रतिनिधि देवकरण कलवार, पूर्व गृहराज्यमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, क्षेत्र नम्बर २ का पार्टी सभापति माधव पाण्डेसहित क्षेत्र नम्बर १ बाट १९ जना र क्षेत्र नम्बर २ बाट ३ जना नेता–कार्यकर्ता रहेका छन्।
जिल्ला अनुशासन समितिका संयोजक गोबिन्द ढकालका अनुसार उम्मेदवारहरूको निवेदनका आधारमा पार्टी हितविपरीत गतिविधि गरेको ठहर गर्दै नेपाली कांग्रेसको विधान अनुसार उनीहरूलाई पाँच वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय समितिमा सिफारिस गरिएको हो।















