9.5 C
New York
Saturday, March 21, 2026

Buy now

spot_img
spot_img

‘शरीर दान’ लिने निकायको खोजीमा भौतारिँदै श्रवणकुमार

- Advertisement -

मृत्युपछिको शरीर दान गर्ने इच्छा बोकेर उहाँ स्वास्थ्य कार्यालय, प्रशासनदेखि केही निकायमा पुग्नु भएको छ । तर, कसैले पनि ठोस जवाफ नदिँदा श्रवणलाई आफ्नो इच्छा मृत्युसँगै जाने हो की भन्ने पिरलो थपिएको छ ।

नवलपरासी– जीवनभर विद्यालय र क्याम्पसका कक्षा कोठामा प्रयोगात्मक शिक्षण विधिलाई प्राथमिकता दिँदै आउनु भएका श्रवणकुमार कुशवाहाले मृत्युपछि पनि कक्षा कोठामा प्रयोगात्मक शिक्षण सामग्रीको उपहार स्वरुप ‘शरीर दान’ गर्ने इच्छा राख्नुभएको छ । आफूले दान गर्ने शरीर स्वीकार गर्ने निकाय नपाउँदा उहाँ आठ महिनादेखि विभिन्न सरकारी निकायमा धाइरहनु भएको छ । तर अहिलेसम्म उक्त निकाय नपाउँदा उहाँको इच्छा अझै पूरा हुन सकेको छैन । 

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–६ बस्ने श्रवणकुमार उमेरले ७५ लाग्नुभयो । मृत्युपछिको शरीर दान गर्ने इच्छा बोकेर उहाँ स्वास्थ्य कार्यालय, प्रशासनदेखि केही निकायमा पुग्नु भएको छ । तर, कसैले पनि ठोस जवाफ नदिँदा श्रवणलाई आफ्नो इच्छा मृत्युसँगै जाने हो की भन्ने पिरलो थपिएको छ । अझ पनि उहाँलाई आफ्नो इच्छा पूरा गर्न आइपरेका बाधासँगैको आसा भने हटेको छैन ।

३८ वर्षसम्म शिक्षण(शिक्षक) पेसामा रहनु भएका श्रवणले २०६८ बाट शिक्षकबाट अवकाश लिनुभएको हो । त्यसपछि चार वर्ष परासीकै पाल्ही क्याम्पसमा प्रमुख भएर काम गर्नुभयो । दुई वर्ष विरगञ्जस्थित पशुपति शिक्षा मन्दिरमा प्राचार्य हुनुभएका श्रवण अहिले हिन्दु स्वंय सेवक संघ भैरहवा विभागको सञ्चालक भएर काम गर्दै आउनु भएको छ । हिन्दु स्वंय सेवक संघकै प्रेरणाले आफूलाई शरीर दान गर्न अभिप्रेरित गरेको बताउनुभयो । ‘मान्छे जन्मन्छ र मर्छ । जति बाँच्छ राष्ट्रका लागि गर्नुपर्छ र मरेपछि पनि समाजलाई केही छाडेर जानुपर्छ भन्ने संस्थाको मर्म हो । त्यही भएर मरेपछि पनि उपयोगी सामान दिने इच्छाले यो निर्णयमा पुगेको हुँ ।’श्रवणले भन्नुभयो । 

संस्थाको प्रेरणासँगै  शिक्षण पेसामा भएका कारण आफू मरेर गएपनि शरीर भने शिक्षणमै रही रहोस् भन्ने उद्देश्यले दान गर्न लागेको उहाँले बताउनुभयो । ‘मैले पढाउँदा पनि प्राक्टिकललाई बढी जोड दिन्थे । कुनै पनि विषयलाई स्पष्टसँग बुझाउन प्राक्टिकल नै महत्वपूर्ण हो । त्यसैले चिकित्साशास्त्र पढ्ने विद्यार्थीहरुका लागि शिक्षण सामग्रीका रुपमा राख्नका लागि शरीर दान गर्ने इच्छा गरेको हुँ । त्यसमा मलाई हिन्दु स्वंम सेवक संस्थाले अभिप्रेरित गर्याे ।’श्रवणले भन्नुभयो । 

शरीर दान गर्ने सोँच राखेर उहाँ पहिलो पटक जिल्ला सदरमुकाम परासीस्थित स्वास्थ्य कार्यालय पुग्नुभएको थियो । त्यहाँ पनि स्पष्ट जानकारी नपाएपछि उहाँ प्रशासनहुँदै भैरहवास्थित मेडिकल कलेज पुग्नु भयो । ८ महिनादेखिको इच्छा अझ पनि बोक्दै हिड्नु भएका श्रवण साता दिनअघि शरीर दानकै विषयलाई लिएर प्रशासनमा पुग्नेक्रममा उहाँसँग पंक्तिकारको भेट भएको हो । ‘कसैले कहाँ जा भन्छन् कसैले कता ? काठमाण्डौंबाहेक रुपन्देहीसम्म पुगे कसैले स्पष्ट जवाफ दिएनन् । ’श्रवणको गुनासो छ ।

शरीर दानकै लागि स्वास्थ्य कार्यालयमा ४ पटक, जिल्ला प्रशासनमा २ पटक र १ पटक भैरहवा मेडिकल कलेजसम्म पुगेको उहाँले बताउनुभयो । ‘सबैले बुझेर खबर गर्छौ भन्छन् अहिलेसम्म नगरेपछि फेरि सीडीओ साहेब कहाँ आएको हुँ । ’श्रवणले भन्नुभयो । पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले दिएको आसाबाट आफ्नो इच्छा पूरा हुने विश्वास श्रवणले व्यक्त गर्नुभयो । ‘सीडीओ साहेबले म केही दिनमा बुझेर सबै बताउछु भन्नुभएको छ । राम्रोसँग मेरा कुरा सुन्नुभयो । अब मेरो इच्छाको निकास निस्कनेमा विश्वस्त भएको छु ।’श्रवणको भनाई छ । 

श्रवणका २, छोरा, बुहारी र नातिनातीना छन् । आफूले परिवारसँग सल्लाह गरेरै दान गर्ने विचार गरेको बताउनुभयो । ‘छोरासहित परिवारका सबै सदस्यलाई राखेर मेरो इच्छाका बारेमा बताए । ठिक छ । नष्ट गर्ने शरीर सिकाईँका लागि दिँदा राम्रो हुन्छ भने, त्यसले मलाई झन हौसायो । ’श्रवणले भन्नुभयो । आफ्नो शरीरलाई शिक्षक सामग्रीको रुपमा प्रयोग गरी देशमा ठूला डाक्टर बनाउनमा मद्दत पुगोस् भन्ने श्रवणको चाहना छ । तर, अहिलेसम्म मृत्युपछि शरीर दान गर्न खोज्दा पनि लिने निकायको अत्तोपत्तो नपाउँदा श्रवणलाई निरास बनाएको छ । 

कानुनी अस्पष्टता र सरोकारवालाको भनाई  

श्रवणले शरीर दान गर्ने निकाय पाउनै मुश्किल भएको बताएपछि परासी पत्र अनलाइनले स्वास्थ्य मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भैरहवा मेडिकल कलेजसम्म सम्पर्क ग¥यो । उनीहरुले पनि स्पष्ट जवाफ दिन सकेनन् । सबैले कानुनी अस्पष्टताले सहज नभएको प्रतिकृया दिए । 

स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक, सूचना अधिकारी डाक्टर भक्तबहादुर केसीले शरीरका केही अंग दान हुने भएपनि शरीर नै दान हुनेबारे जानकारी नभएको परासी पत्र अनलाईनलाई बताउनुभयो । ‘शरीर त मेडिकल कलेजहरुलाई अध्ययनका लागि चाहिने हो । मृत्युपछि प्रयोग हुने अंगका बारेमा थाहा भएपनि शरीर नै लिने भन्नेबारे जानकारी भएन ।’ डाक्टर केसीले भन्नुभयो । उहाँले त्यसबारे मेडिकल कलेज र मानव अंग प्रत्यारोपण केन्द्रमा सम्पर्क गर्न सुझाउनु भयो । डाक्टर केसीको भनाईअनुसार हामीले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा त्यसबारे केही जिज्ञासा राखेका थियौ ।

केन्द्रकी ट्रान्सप्लान्ट कोर्डिनेटर सरु कुजुले पनि डाक्टर केसीकै भनाई दोहोराउनुभयो । ‘हामी कहाँ मष्तिष्क मृत्युपछिको अंग लिने हो । शरीर नै भने लिदैनौ । एमबिबिएस पढाउने कलेजहरुले लिन सक्लान की !’ उहाँले भन्नुभयो । अंग दान गर्दा सम्बन्धित व्यक्तिले केन्द्रमा आएर वा अनलाइनबाट नागरिकता र फोटोसहित फारम भरेपछि मष्तिष्क मृत्युपछि अंग लिइने उहाँले बताउनुभयो । 

शरीर दानबारे कानुन स्पष्ट नहुँदा पनि मृत्युपछि दान गर्न चाहनेको शरीर नै लिन समस्या हुने गरेकाले लिन नमानेको हुन सक्ने सरुको भनाई छ । भैरहवा मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सदन मुखीले त्यसरी शरीर दान नै लिने अस्पतालमा प्रकृया नै नभएको बताउनुभयो । विद्यार्थी सिकाईँका लागि टिचिङ्ग अस्पतालबाट मृत शरीर पठाइने उहाँले बताउनुभयो । ‘हामीलाई चाहिँदा डेथ बडी टिचिङ्गबाट आउँछ । त्यसरी दान नै लिने हामी कहाँ प्रकृया नै छैन । अरु कस्ले लिन्छ थाहा भएन । ’डाक्टर सदनले भन्नुभयो । साभारः परासीपत्र अनलाइन

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme