२५ भदौ, काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा भएको झडपमा पाँच जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।
सुरक्षा स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन्।
गएराति सुधारगृहभित्र उत्पन्न तनाव नियन्त्रणमा लिन प्रहरीले प्रयास गर्दा झडप भएको थियो। घटनामा घाइते भएकालाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल लगिएको थियो। त्यसमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको र दुई जनाको उपचार जारी रहेको पुष्टि गरिएको छ।
देशभर जेनजी आन्दोलन चर्किएसँगै सुधारगृहमा रहेका कैदीबन्दीहरूले भाग्ने प्रयास गरेका थिए। प्रहरीले रोक्न खोज्दा झडप भएको र केही युवा भाग्न सफल भएका भने केही अझै सुधारगृहभित्रै रहेका स्रोतले जानकारी दिएको छ।















