सुर्खेतकाे वीरेन्द्रनगरमा अनिश्चितकालीन निषेधाज्ञा

100

सुर्खेत, १७ फागुन।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा मंगलबार बेलुकी ७ बजेपछि भने अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । ‘कर्फ्यूलाई खुकुलो बनाएर निषेधाज्ञा जारी गरेका छौं । आज अवस्था सामान्य बन्दै गएपछि जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको छ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने ।

दिनभरिको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएकाले सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताए । उनका अनुसार प्रशासनले वीरेन्द्रनगरको यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र पाँच जनाभन्दा बढी मान्छे जम्मा हुन र कुनै पनि विरोध प्रदर्शन गर्न रोक लगाएको छ ।

उनका अनुसार अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा कायम रहनेछ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ एमसीसी विरोध प्रदर्शन चर्किएको थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ ।अनलाइनखबरबाट

हेर्नुस् जिल्ला प्रशासन कार्यालय सुर्खेतले जारी गरेको सूचना