7.7 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

‘भाग्यमानी’ मात्र होइनन् प्रधानमन्त्री देउवा

- Advertisement -

डडेलधुराबाट सातौं विजयी कीर्तिमानको तयारी

आसन्न निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेलधुरामा यतिबेला एकजना अनौठा पात्र खडा भएका छन्। न त उनको कुनै राजनीतिक पृष्ठभूमि छ, न त उनी डडेलधुराकै हुन्।

उनी हुन्, गुल्मीका सागर ढकाल। गुल्मीका भए पनि ‘देउवालाई हराउने’ एक मात्र उद्देश्यका साथ उनी डडेलधुराबाट स्वतन्त्र उम्मेदवार भएका छन्। उनलाई संचार माध्यमले पनि अति नै उचालिरहेका छन्।

सागर ढकाल तिनै युवा हुन् जसले करीब पाँच वर्षअघि बीबीसी नेपाली सेवाको साझा सवाल कार्यक्रममा तत्कालीन प्रधानमन्त्री देउवालाई प्रश्न गरेका थिए। ‘बेलायतका प्रधानमन्त्रीहरु अक्सफोर्ड विश्वविद्यालय पढेका छन्। सिंगापुर, चीन, अमेरिकामा पनि उत्कृष्ट विद्यार्थी मात्र प्रधानमन्त्री बन्छन्। नेपालमा विगत ७० वर्षदेखि खै त हामीले त्यस्तो प्रधानमन्त्री पाएको ?’

वास्तवमा ढकालको प्रश्न नै बेतुकको थियो। राजीव गान्धीबाहेक भारतका प्रायः सबै प्रधानमन्त्रीले स्वदेशमै अध्ययन गरेका हुन्। कुनै पनि देशको प्रधानमन्त्री बन्न अक्सफोर्ड विश्वविद्यालयमै पढ्नुपर्छ भन्ने तर्क नै हास्यास्पद थियो।

बहालवाला प्रधानमन्त्रीसँग प्रश्न सोध्दा अपनाउनुपर्ने मर्यादा नाघेका ढकालको रवैयाले त्योबेला देउवालाई पनि उत्तेजित बनाएको थियो। अनि उनले भनेका थिए, ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ। नेपालमा भएकै विश्वविद्यालयमा पढ्ने हो। अक्सफोर्ड कहाँबाट ल्याउने ?’
त्योबेला पनि नेपाली मिडियाले ढकाललाई नै बढी उचालेर देउवाको उछित्तो काढेका थिए। २००७ सालको क्रान्तिदेखि २०३६ को विद्यार्थी आन्दोलनको जगमा उदाएका नेपालका नेताहरुले विदेशमा पढ्ने भनेको उही भारतको बनारससम्म हो। हैन भने स्वदेशमै हो। यद्यपि, देउवाले लण्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरेको तथ्य चाहिँ ढकाललाई थाहै थिएन।

उतिबेलाको चर्चालाई भजाउँदै तिनै ढकाल यतिबेला देउवा हराउन भन्दै गुल्मीबाट डडेलधुरा पुगेका छन्। तर, ढकाललाई हेक्का हुनुपर्ने हो, देउवा यस्ता राजनीतिक खेलाडी हुन्, जसलाई पार्टीभित्रका र बाहिरका मै हुँ भन्ने पात्रलेसमेत हराउन र रोक्न सकेनन्। राजनीतिका दिग्गज खेलाडीलाई हराउन भुसुना खेलाडी मैदानमा उत्रनु या उतारिनु र यसलाई मिडियाले पनि उचाल्नु एउटा भद्दा प्रहसन मात्र हो।

सातौं पटक जित्ने तयारी
एउटै क्षेत्रबाट लगातार ६ पटक निर्वाचन जितेर पाँचौं पटक प्रधानमन्त्री बन्न सफल प्रधानमन्त्री शेरबहादुर देउवा सातौं पटक निर्वाचन जित्ने अनुकुलतामा देखिन्छन्।

एक मात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा यसपाली पहिलो पटक नेकपा (एमाले)बाहेकका कम्युनिष्ट पार्टीको समेत मत पाउने भएकाले ‘भाग्यमानी’ देउवाले एकै क्षेत्रबाट सात पटक निर्वाचन जित्ने कीर्तिमान कायम गर्दैछन्।

पहिलो आधार त देउवाविरुद्ध एमालेले उम्मेदवार नै खडा गरेको छैन। उसले बागी उम्मेदवार कांग्रेस बीपीका कर्ण मल्ललाई सहयोग गर्ने भएको छ। डडेलधुराको राजनीतिमा २०३० सालदेखि नै भिज्दै आएका र पाँच पटकसम्म प्रधानमन्त्री भइसकेका देउवालाई मल्लले हराइहाल्ने सम्भावना खासै देखिँदैन।

हालै सम्पन्न स्थानीय निर्वाचनको परिणामले पनि कांग्रेसको अवस्था पहिलेभन्दा सुदृढ नै देखिन्छ। २०७४ को स्थानीय निर्वाचनमा डडेलधुराका सातवटा नगरपालिकामध्ये चारवटा नगरपालिका र १७ वटा वडामा मात्र कांग्रेसले विजय प्राप्त गरेको थियो। यसपाली भने उसले सदरमुकाम अवस्थित अमरगढी नगरपालिकासहित पाँच वटा नगरपालिका र २९ वडामा अध्यक्ष जितेकाले जनमत देउवाकै पक्षमा बलियो देखिन्छ। माओवादी केन्द्र र एकीकृत समाजवादीको समेत मत प्राप्त गर्ने भएपछि उनलाई हराउनसक्ने ल्याकत कसैसँग देखिँदैन।

देउवाको विजय यात्रा
नेपाली राजनीतिमा देउवा नै यस्ता पात्र हुन् जसले अहिलेसम्म आफ्नो क्षेत्रबाट एक पटक पनि निर्वाचन हारेका छैनन्। संसदमा उनको विजय यात्रा २०४८ सालबाट प्रारम्भ भएको हो। जतिबेला उनले एमालेका उम्मेदवार गोविन्दप्रसाद कलौनीलाई २१ हजार मतको अन्तरले हराएका थिए। त्यो बेला उनले ७४ प्रतिशत मत प्राप्त गरेका थिए।

देउवालाई हराउनकै लागि एमालेले २०५१ को मध्यावधि निर्वाचनमा तात्कालीन नेपाल जनवादी मोर्चाका नेता खेमराज भट्ट मायालुलाई समर्थन गरेको थियो। अहिले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गरेझैं। तर, त्यो निर्वाचनमा पनि देउवाले भारी मतान्तरले जिते।

२०५६ सालको आम निर्वाचनमा देउवाले एमालेका डीबी चटौतलाई हराए। यसबीचमा मुलुकमा अनेक राजनीतिक उथलपुथल भए। सुदूरपश्चिमलाई केन्द्र बनाएर माओवादीको हिंसात्मक विद्रोह उत्कर्ष पुग्यो। दरबार हत्याकाण्ड, ज्ञानेन्द्र शाहको राज्याभिषेक, ‘माघ १९’ को घटना हुँदै १२ बुँदे समझदारी, २०६२ को आन्दोलन, बृहत शान्ति सम्झौतापछि माओवादीकै माग अनुरुप २०६४ सालमा संविधानसभा निर्वाचन सम्पन्न भयो। हिंसात्मक विद्रोहीको चुरीफुरी बढेको त्यो कालखण्डमा पनि देउवाले पहिलो र दोश्रो दुबै सविधानसभा निर्वाचनमा माओवादीका उम्मेदवार खगराज भट्टलाई भारी मतान्तरले पराजित गरे।

नयाँ संविधान निर्माणपछि २०७४ मा सम्पन्न आम निर्वाचनमा भने देउवालाई केही अप्ठयारो पक्कै थियो। किनकी त्योबेला एमाले, माओवादीलगायतका सम्पूर्ण वाम एकढिक्का थिए। साझा वाम उम्मेदवार खगराज भट्टले तेश्रो पटक पनि देउवालाई हराउन सकेनन्। वामहरु एकढिक्का हुँदा त नहारेका देउवालाई यसपाली दुई कम्युनिष्ट घटकको समर्थन भएकाले उनको विजय करीब करीब पक्का देखिन्छ।

पार्टी र सत्तामा सफलता
२००३ सालमा डडेलधुरामा जन्मिएका देउवाको राजनीतिक जीवन विद्यार्थी कालबाटै प्रारम्भ भएको हो। २०२२ सालमा सुदूर पश्चिमाञ्चल विद्यार्थी संघबाट सुरु भएको उनको सक्रियता नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र सभापति हुँदै अघि बढ्यो। प्रजातन्त्र प्राप्तीको संघर्षमा लाग्ने क्रममा उनी करीब नौ वर्ष जेल परे, जसलाई उनको ‘भाग्य’ हैन योगदान भन्नुपर्ने हुन्छ।

२०४६ मा बहुदल आएयता उनी सुदूरपश्चिमकै प्रखर नेताका रुपमा उदाए। २०४८ सालको निर्वाचनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बने। २०५१ सालको मध्यावधि निर्वाचनपछि उनी प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलको नेता बनेका थिए।

२०५२ सालमा एमालेको नौ महिने अल्पमतको सरकार ढल्यो। त्यसपछि उनी पहिलो पटक प्रधानमन्त्री बन्न सफल भए। २०५८ साल साउनमा उनी दोस्रो पटक प्रधानमन्त्री बने। यद्यपी सोही वर्षको असोज १८ मा राजा ज्ञानेन्द्रले उनलाई हठात अपदस्त गरेको भए पनि २०६१ साल जेठमा राजाले नै उनलाई प्रधानमन्त्री बनाए।

राजाले २०६१ साल माघ १९ मा ‘कू’ गरेपछि देउवालाई प्रधानमन्त्रीबाट हटाए। उनी प्रधानमन्त्री बाट मात्र हटेनन् तात्कालीन शाही आयोगले उनलाई राजनीतिक प्रतिशोधबाट प्रेरित भएर भ्रष्टाचारको अभियोगसमेत लगायो। त्यसैले देउवालाई यदाकदा ‘दरबारपरस्त’ भन्नेले यो तथ्य पनि भुल्नु हुँदैन। किनकी, त्यसबेला शाही आयोगमा बयान दिन नमान्दा राजाको अध्यक्षतामा गठित शाही सरकारले देउवालाई पक्राउसमेत गरेको थियो।

२०६२/०६३ को आन्दोलनपश्चात देशमा गणतन्त्र स्थापना भयो। २०७४ सालमा देउवा चौंथो पटक प्रधानमन्त्री बने। उनकै कार्यकालमा नेपालमा नयाँ संविधान अन्तर्गत पहिलो आम निर्र्वाचन सम्पन्न भयो।

आम निर्वाचनमा वाम गठबन्धनले करिब दुई तिहाइ बहुमत त ल्यायो। तर, नेकपाबाट प्रधानमन्त्री बनेका केपी ओलीको दम्भ, दुई–दुई पटक संसद विघटन गर्ने हर्कतपछि कांग्रेस, माके र एसको नयाँ सत्ता समीकरण तयार भयो।

त्योबेला देउवाको आफ्नै चाहनामा भन्दा दाहाल र एस अध्यक्ष माधव नेपालले नै किस्तीमा राखेर प्रधानमन्त्री पद उनलाई सुम्पिएको जगजाहेरै छ। यसरी अहिले उनको पाँचौ पटकको प्रधानमन्त्रीत्वकाल चलिरहेको छ।

२०७२ साल फागुनमा सम्पन्न कांग्रेसको १३औँ महाधिवेशनमा उनी पहिलो पटक सभापति बने। उनले सभापतिमा रामचन्द्र पौडेललाई हराएका थिए। कांग्रेसको १४ औं महाधिशेनमा ‘देउवा इतर समूह’को चुरीफुरी पनि काम लागेन। सभापतिमा ‘विकल्प खोज्ने’ बोहराटारदेखि चाक्सीबारीसम्मका पहल असफल भए। सबै विकल्प असफल भएपछि देउवा दोश्रो पटक सभापति बने।

भाग्य या कौशल ?
यसरी अनुकल होस् या प्रतिकुल अवस्थामा पनि सदा निर्वाचन जित्नु देउवाको भाग्य हो या कौशल ? भाग्यवादमा विश्वास गर्नेहरुले देउवालाई भाग्यमानी नेता नै मान्ने गर्छन्। कर्ममा विश्वास गर्नेहरु चाहिँ देउवाको कार्य कौशल देख्छन्।

पक्कै पनि देउवामा स्पष्ट गोचर नहुने तर अदभूत विशेषता छ। उनी भाषणमा पोख्त व्यक्तित्व होइनन्। रामचन्द्र पौडेल या प्रदिप गिरी (हाल दिवंगत) जस्तै प्रखर विचारक पनि होइनन्। तैपनि राजनीतिक दौडमा उनले नै सबैलाई माथ गर्ने गरेका छन्।

हरेक विषयमा प्यारप्यार बोल्ने उनको बानी छैन। अहिले बर्गेल्ती खुलेका टेलिभिजन र युट्युब च्यानलमा प्रायः एक दिन बिराएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललगायतका नेताका अन्तर्वार्ता प्रशारण भइरहेका छन्। यी नेताबीच एकले अर्कोको तेजोबध गर्ने उपक्रम चलिरहेकै छ। धारिलो कटाक्ष गर्न यी नेता माहिर छन्।

अर्कोतिर हेरौं, प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको अन्तर्वार्ता भने खासै प्रशारण भएको पाइदैन। कुनै कार्यक्रममा सम्बोधन गर्दा देउवा ‘बढ्ता बोल्दैनन्’ त्यसैले उनलाई अरुले ‘बढता बोलेको’ पनि मन पर्दैन।

बोलीमा भन्दा देउवा व्यवहारमा जोड दिन्छन्। विभिन्न राजनीतिक दल र नेतासँग उनको व्यवहार हार्दिक र उदार देखिन्छ। समकालीन शीर्ष नेतामध्ये देउवा नै यस्ता नेता हुन्। जसको बोलीमा कसैप्रति कटाक्ष भाव पटक्कै भेटिदैन। उनी कसैलाई गाली पनि गर्दैनन्। सत्ता गठबन्धन विरोधी नेता केपी ओलीसँगसमेत उनको हार्दिक सम्बन्ध नै देखिन्छ। अनि ओलीले पनि देउवाको खासै उछित्तो काढेको पाइदैन।

कम बोल्ने, स्पष्ट बोल्ने, दोहोरो कुरा नगर्ने, लचकता र उदारता प्रदर्शन गर्ने अनि ‘मौन रणनीति’मार्फत् राजनीतिक सफलता हासिल गर्ने। सँगसँगै विदेशी शक्ति केन्द्रलाई समेत सन्तुलनमा राख्नसक्ने देउवाको खुबी नै उनको सफलताको सूत्र हो भन्दा अत्युत्ति, नहोला। यसर्थ देउवालाई ‘भाग्यमानी’ मात्रै भन्नु मनासिब नठहर्ला। साभारः खबरहब

बहालवाला प्रधानमन्त्रीसँग प्रश्न सोध्दा अपनाउनुपर्ने मर्यादा नाघेका ढकालको रवैयाले त्योबेला देउवालाई पनि उत्तेजित बनाएको थियो। अनि उनले भनेका थिए, ‘तपाई बढ्ता बोल्दै हुनुहुन्छ। नेपालमा भएकै विश्वविद्यालयमा पढ्ने हो। अक्सफोर्ड कहाँबाट ल्याउने ?’

देउवालाई हराउनकै लागि एमालेले २०५१ को मध्यावधि निर्वाचनमा तात्कालीन नेपाल जनवादी मोर्चाका नेता खेमराज भट्ट मायालुलाई समर्थन गरेको थियो। अहिले बीपी कांग्रेसका कर्ण मल्ललाई समर्थन गरेझैं। तर, त्यो निर्वाचनमा पनि देउवाले भारी मतान्तरले जिते।

कांग्रेसको १४ औं महाधिशेनमा ‘देउवा इतर समूह’को चुरीफुरी पनि काम लागेन। सभापतिमा ‘विकल्प खोज्ने’ बोहराटारदेखि चाक्सीबारीसम्मका पहल असफल भए।

सन्तुलनमा राख्नसक्ने देउवाको खुबी नै उनको सफलताको सूत्र हो भन्दा अत्युत्ति, नहोला। यसर्थ देउवालाई ‘भाग्यमानी’ मात्रै भन्नु मनासिब नठहर्ला।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme