भैरहवा, ३ फागुन ।
चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । उनीहरुले नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् ।
नागरिक समाज, रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण जुनुसकै मुलुकले गरे पनि त्यो गलत भएको बताए । भारतले सीमा अतिक्रमण गर्दा चर्को आवाज उठाउने तर चीनले भूमि अतिक्रमण गर्दा चुप लागेर बस्ने प्रवृत्ति ठीक नभएको बताएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व कृषि राज्यमन्त्री ओमप्रकाश यादव (गुल्जारी)ले राष्ट्रियताको सवालमा सबै एकजुट हुनुपर्ने बताए । उनले भने, ‘भारतले सीमा अतिक्रमण गर्दा बोल्छौ, त्यो ठीक छ तर चीनले अतिक्रमण गर्दा पनि त्यसका विरुद्ध आवाज उठाउनुपर्छ ।’ नेता गुल्जारीले नेपालले भारत र चीन दुवैसंग राम्रो सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।
त्यस्तै नेता तथा सामाजिक अगुवा राजेन्द्र गुप्ताले सत्यको पक्षमा आवाज बोल्नुपर्ने बताए । उनले चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा आवाज उठाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कुनै पनि मुलुकले कुनै पनि बहानामा भूमि अतिक्रमण गर्नु कदापी राम्रो हुँदैन ।’
समाजसेवी आनन्द प्रसाद गुप्ताले सीमा अतिक्रमणका विषयमा राजनीतिक दलका नेता तथा सरकार गम्भिर हुनुपर्ने बताए । उनले जनता जागरुक हुनुपर्नेमा जोड दिए । युवा नेता महेन्द्र गुप्ता (प्रशान्त)ले सीमा अतिक्रमण गलत भएको बताए । उनले भने, ‘भारतले नेपालको भूमि अतिक्रमण गर्दा बोल्छौं, त्यस्तै चीनले समेत अतिक्रमण गर्दा बोल्नुपर्छ, अतिक्रमण जसले गरे पनि बेठिक हो ।’
नागरिक अगुवा अखिलेन्द्र पाण्डेले चीनले सीमा अतिक्रमण गर्दा आवाज उठाउनुपर्ने बताए । त्यस्तै विश्वनाथ रायले सीमा विवाद समाधान गर्न सरकारसंग आग्रह गरे । समाजसेवी प्रेमनाथ शुक्ला, सरिता श्रीवास्तवले भूमि अतिक्रमणविरुद्ध आवाज उठाउनुपर्ने बताए । सामाजिक अगुवा राजेन्द्र गुप्ताको अध्यक्षता तथा ओमप्रकाश यादव (गुल्जारी)को प्रमुख आतिथ्यतामा महेन्द्र गुप्ता (प्रशान्त)को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





