केन्द्र र सातै प्रदेशमा एमाले सत्ताविहीन

28

काठमाडौं । संघीय सरकारको गठबन्धन फुट्ने र जोडिने क्रियाकलापका कारण संघ सहित सबै प्रदेशमा एमाले प्रतिपक्ष बनेको छ ।

शुक्रबार कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सभामा विश्वासको मत गुमाएसँगै सातै प्रदशेमा एमाले सत्ता बिहीन भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाललाई प्रधानमन्त्री बनाउन भएको गठबन्धनको ब्याज असुल्दै ४ वटा प्रदेशको नेतृत्व पाएको नेकपा एमाले राष्ट्रपति निर्वाचनका लागि समीकरणमा बदलाव आएसँगै सत्ता बाहिर पुगेको हो ।

संघीय सरकारको गठबन्धन परिवर्तन भएसँगै त्यसको असर सबै प्रदेशमा परेको छ । एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनसँगै पुरानै गठबन्धनमा फर्किएपछि एमालेले सबै प्रदेशबाट सत्ता गुमाएको छ । गत पुस २४ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हिक्मतकुमार कार्कीले शुक्रबार विश्वासको मत नपाएपछि कोशी प्रदेशमा एमालेको सत्ता ढलेको छ । हिक्मत कार्की ६ महिनासम्म सत्ता लम्ब्याउन सफल भएपनि नयाँ बजेट ल्याउन नपाउँदै माओवादी र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि सत्ताविमुख हुनुपर्‍यो ।

२०७९ पुस १० गते बनेको गठबन्धन फागुन २५ मा भएको राष्ट्रपति चुनावसम्म एमाले चौतर्फी शक्तिकेन्द्रमा थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको पहलमा बनेको गठबन्धनबाट प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय मोर्चामै फर्किएसँगै संकट बढेको थियो । माओवादीले गत मंसिर ४ को चुनावअघिकै गठबन्धनमा फिर्ता हुने निर्णय गरेपछि आफ्नो भाग परेको राष्ट्रपति एमालेले गुमाएर कांग्रेसको पोल्टामा परेको थियो ।