जसपा मा फुटकाे चिरा‚ यादव पक्ष भन्छ- पार्टीमा विवाद छैन

25

काठमाडौँ, १५ फागुन

भट्टराई पक्षधर जसपाका कार्यकारणी सदस्य प्रशान्त सिंहले पार्टीअध्यक्ष यादव राष्ट्रिय मूलधारको राजनीतिमा आइपुग्दा पनि मधेसमा मात्रै सिमीत भएकाले पनि पार्टी फुटको संघारमा पुगेको आरोप लगाएका छन् । त्यस्तै डा. भट्टराईले समावेशी र सामूहिक नेतृत्वको कुरा गर्दा यादवले भने नेतृत्व केन्द्रीकरण गर्न चाहेकाले यसले वैचारिक विवाद सुरु भएको उनले बताए ।

पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा)मा विवाद चुलिएको छ । फुटको संघारमा पुग्न लागेको पार्टीमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढ्नुका थुप्रै कारणहरू छन् । आन्तरिक विवाद यतिसम्म चर्किएको छ कि एउटै पार्टीभित्र भट्टराई र यादव पक्षका नेताले तर्क राख्दै आएका छन् । पार्टीमा विवाद बढ्नुका कारणबारे यादव र भट्टराई पक्षका नेताहरूका आ-आफ्ना बुझाइ छन् । 

‘लोकतान्त्रिक पद्धतिमा सामूहिक छलफल गरेर अघि बढ्नुपर्ने हो । तर, यादवले एकलौटे प्रवृत्तिले पार्टी चलाउन थाल्नुभयो‚’ उनले भने‚ ‘मुलुकलाई समृद्धितिर उन्मुख गराउन अध्यक्ष यादवजीले खासै चासो दिनुहुन्न । जस्तैः एमसीसीको पक्षमा उहाँ मौन हुनुहुन्छ । अहिलेसम्म संसदीय दलको बैठक बसेको छैन । न त छलफल नै चलेको छ । केन्द्रीय बैठक त दुई वर्षदेखि कराउँदा-कराउँदा फागुन १३ गते बोलाउनुभएको छ ।’

अध्यक्ष यादवले संघीयताको मर्मअनुसार गतिविधि नगरेको भन्दै सदस्य सिंहले प्रदेश, स्थानीय तहलाई अधिकार दिने तर, त्यसको नियन्त्रण केन्द्रले गर्ने सोच र व्यवहारले गर्दा मनमुटाव बढेको बताए ।

त्यस्तै यादव पक्षधर अर्का नेता तथा जसपा कार्यकारणी सदस्य प्रकाश अधिकारी भने पार्टीमा विवाद नै नभएको बताउँछन् । ‘विचारको राजनीति हुनु स्वभाविक हो । तर, मनमुटाव छैन‚’ उनले भने‚ ‘पार्टीको विधानमा पार्टीलाई समावेशी चरित्रको बनाउने भनिएको छ । दुई अध्यक्ष राख्ने भनिएको छ । तर, कुन जातिको राख्ने ? भनिएको छैन । त्यसैले जातीय अध्यक्ष राख्न जरुरी छैन ।’

अध्यक्ष यादवको स्वविवेक र आवश्यकताअनुसार बैठक बस्ने भन्दै सदस्य अधिकारीले यसमा दबाब सिर्जना गर्नुपर्ने जरुरी नभएको बताए । ‘पार्टीको अध्यक्ष विधानअनुरूप नै कार्यशैलीमा हुनुहुन्छ । कुनै वेथिति छैन । यी सबै हावा कुरा हुन्‚’ उनले भने‚ ‘अध्यक्ष उपेन्द्रजीले के गर्नु भयो भन्दा पनि पार्टी संघीयता संरचनालाई सम्मान गर्छ; अध्यक्ष पनि त्यही दिशामा सक्रिय हुनुहुन्छ ।’