काठमाडौँ — चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालले विद्युत् आयातको तुलनामा निर्यात बढी गरेको देखिएको छ । असोज मसान्तसम्म १ लाख २१ हजार ९ सय १६ मेगावाट आवर विद्युत् निर्यात गर्दा सोही अवधिमा भारतबाट १ लाख ११ हजार ६ सय ७७ मेगावाट विद्युत् आयात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ । आयातको तुलनामा निर्यात १० हजार २ सय ३९ मेगावाट आवर बढी हो ।

नेपालले भारतसँग विभिन्न १२ वटा प्रसारणलाइनमार्फत विद्युत् आदान–प्रदान गरिरहेको छ । जसमध्ये ३३ केभी क्षमताका कटैया–राजविराज, सीतामडी–जलश्वेर, कटैया–इनरुवा, रक्सौल–वीरगन्ज, जयनगर–सिराहा, नानपारा–नेपालगन्ज प्रसारणलाइन सञ्चालन छन् ।
त्यस्तै १३२ केभी क्षमतामा कटैया–कुशाहा, रामनगर–गण्डक, टनकपुर–महेन्द्रनगर, कटैया–कुशाहा र रक्सौल–परवानीपुर छन् । मुजफ्फरपुर–ढल्केबर ४ सय केभी प्रसारणलाइन हो । यी प्रसारणलाइनमध्ये विद्युत् निर्यात भने ५ वटा नाकाबाट मात्रै भएको देखिन्छ । कटैया–इनरुवा, रक्सौल–वीरगन्ज, रामनगर–गण्डक, टनकपुर–महेन्द्रनगर र मुजफ्फरपुर–ढल्केबर प्रसारणलाइनबाट विद्युत् भारत निर्यात गरिएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए ।
नेपालले भारतबाट आयात गर्ने र निर्यात गर्ने विद्युत्को व्यावसायिक ढाँचा भने फरक छ । भारतबाट आयात हुने
विद्युत्मध्ये टनकपुर नाकाबाट आउने वार्षिक ७ करोड युनिट निःशुल्क हो । बाँकी विद्युत् नेपालले किनेर ल्याउने गरेको छ । तर निर्यात गर्ने विद्युत् भने साटासाट (एक्सचेन्ज) को अवधारणामा चलिरहेको छ । वर्षायाममा नेपालले भारतलाई दिएको विद्युत् भारतले हिउँदयाममा नेपाललाई फिर्ता गर्छ । ‘भारतको बिहार राज्यले हिउँदमा फिर्ता गर्ने गरी विभिन्न नाकाबाट विद्युत् लिइरहेको छ । बिहारले माग गरेअनुसार विद्युत् पठाइरहेका छौं,’ प्रवक्ता भट्टराईले भने । बिहारले आफ्नो विद्युत् माग र आपूर्तिको अवस्था हेरेर नेपालसँग पैंचो माग्ने गरेको छ ।
भारतलाई विद्युत् पठाउने प्रसारणलाइनहरूमा चालु आर्थिक वर्षको असोज मसान्तसम्म कटैया–इनरुवाबाट २१ हजार ५ सय ३०, रक्सौल–वीरगन्जबाट २० हजार ५ सय ८९, रामनगर–गण्डकबाट ६ हजार ८ सय १ र टनकपुर–महेन्द्रनगरबाट १ सय ४२ मेगावाट आवर विद्युत् निर्यात गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । ४ सय केभी अन्तरदेशीय मुजफ्फरपुर–ढल्केबर प्रसारणलाइनबाट मात्र ७२ हजार ८ सय ५४ मेगावाट आवर विद्युत् भारतलाई निर्यात गरिएको छ । वर्षायाममा नेपालले पठाएको विद्युत् र हिउँदमा बिहारले पठाएको विद्युत् परिमाणमा फरक देखिए त्यसको अतिरिक्त मूल्य तिर्ने गरी दुई पक्षबीच सम्झौता भएको प्राधिकरणले बताएको छ ।
अहिले दुई देशबीच ३३ केभी, १३२ केभी र ४ सय केभी प्रसारणलाइनबाट ५ सय मेगावाटभन्दा बढी विद्युत् प्रवाह गर्न संरचना उपलब्ध छ । सरकारी स्वामित्वमा बनेको ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना सञ्चालनमा आएपछि वर्षायाममा नेपालमा विद्युत् खेर गइरहेको छ ।
तर भारतलाई विद्युत् बेच्न सक्ने अवस्था छैन । नेपाल र भारतबीच इनर्जी एक्सचेन्जका लागि सम्झौता भए पनि विद्युत् व्यापार (इनर्जी ट्रेड) का लागि भने दोहोरो सम्झौता हुन बाँकी छ । अहिले भारतले नेपाललाई विद्युत् बेच्न सक्छ तर नेपालले भारतलाई सक्दैन ।
गत आर्थिक वर्ष २०७७/७८ मा प्राधिकरणले बिक्री गरेको कुल विद्युत्मध्ये ८२ दशमलव १९ प्रतिशत आन्तरिक खपत, १६ दशमलव ९३ प्रतिशत चुहावट, शून्य दशमलव ५० प्रतिशत मात्रै निर्यात भएको प्राधिकरणको तथ्याङ्क छ । सन् २०२१ मा ८२ करोड ९० लाख, २०२० मा ७४ करोड ३० लाख, २०१९ मा ४१ करोड ३० लाख र २०१८ मा २ करोड ९० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात भएको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा नेपालले भारतबाट औसत ५ सय ३७ मेगावाटसम्म विद्युत् आयात गरेको देखिन्छ । सबैभन्दा धेरै गत वैशाखमा ८ सय ३८ मेगावाटसम्म विद्युत् भारतबाट आयात भएको थियो ।कान्तिपुरबाट





