काभ्रेपलाञ्चाेक – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुँदै गरेका कारण आउँदाे वैशाख २० गते सात सय ५३ वटै पालिकाकाे चुनाव गर्ने तयारीमा आयोग जुटिरहेको बताउनुभएको छ ।
पालिका सरकार रिक्त रहने विषय कल्पनासमेत गर्न नसकिने र उहाँहरूको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएका कारण वैशाखभित्र नै तोकिएको समयमा चुनाव गर्न आयोग गम्भीर रहेको उहाँले बताउनुभयो ।
छिट्टै नै पालिका निर्वाचनको मिति तय गर्नका निम्ति सरकारसमक्ष सिफारिस गर्ने आयोगले तयारी गरिरहेको उहाँको भनाइ छ । त्यसपछि २०७९ फागुनभित्र सबै प्रदेशको प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रपति, उपराष्ट्रपति पदको चुनाव सम्पन्न गरेर नयाँ जनप्रतिनिधि तथा नयाँ नेतृत्व सुम्पने कार्यमा आयोग प्रवेश गरिसकेको उल्लेख गर्दै त्यसका लागि चुनावलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययीरूपमा कार्य गर्न आयोगलाई सहयोग गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।





