नवलपरासी, ३ फागुन ।
अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोधमा पश्चिम नवलपरासीकाे बर्दघाटमा मसाल जुलुस गरिएको छ ।
बर्दघाटमा भएको मसाल जुलुसमा क्रान्तिकारी माओवादी विप्लव नेकपाका नेता कार्यकर्ताहरुले एमसीसी सम्झौताकाे विराेध गरेका हुन् ।
शिवनगरबाट निकालिएको जुलुस बर्दघाट चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । एमसीसी सम्झौता खारेज गर, दलालहरु होसियार लगायतका नारावाजी गरेका थिए ।
कार्यक्रममा क्रान्तिकारी माओवादीका प्रदेश सदस्य क्षेत्रबहादुर थापा र विप्लव नेकपामा बिशेष जिल्ला सदस्य गंगाराम ज्ञवालीले संसदबाट एमसीसी पारित गरिए एमसीसीका दलाल र मतियारहरुलाई जनताले नांगेझार पार्ने बताउनुभयो । जुलुसमा नेकपा माक्र्सवादी पुष्पलाल र स्थानीय जनताहरुले समेत साथ दिएका थिए ।
नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी प्रस्ताव पेश गर्ने निर्णय गरे लगत्तै एमसीसीविरुद्ध आन्दोलन गर्दै आएका विभिन्न ५पाँच दल र एक मोर्चा बुधबार नेपाल बन्दको घोषणा गरेका हुन् । एमसीसीविरुद्ध मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेकपा, विश्वभक्त दुलाल ‘आहुती’ नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र (समाजवादी) र सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् ।
बन्द सफल बनाउन भन्दै नेपाल बन्दको पूर्व सन्ध्यामा साे मसाल जुलुस गरिएकाे हाे । मसाल जुलुस देशका अन्य भागमा समेत गरिएकाे बताइएकाे छ ।





