सशस्त्र गोलीकाण्डको छानविन गर्न गृहमन्त्रालयद्वारा छानविन समिति गठन

31
File picture

५ जेष्ठ २०७८, नवलपरासी ।

नवलपरासीकाे सिमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवककाे ज्यान गएको विषयमा छानविन गर्न गृहमन्त्रालयले एक छानविन समिति गठन गरेको छ ।

गृहमन्त्रालयका सहसचिव कृष्ण प्रसाद पन्तको संयोजकत्वमा ५ सदस्यीय छानविन समितिकाे गठन गृहले गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिनुभयो ।

गठित समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक सुशान्त शर्मालाइ राखिएकाे छ । समितिले बिहीबारदेखि काम थालेर ७ दिन भित्र रायसहितको प्रतिवेदन बुझाउने जिम्मेवारी ताेकिएकाे छ ।

भारतीय स्थानीय बजारबाट ओैषधि किनेर फर्कने क्रममा पश्चिम नवलपरासीको सुस्ता गाउंपालिका ५ स्थित सीमामा सशस्त्रले राेकेपछि विवाद उत्पन्न भएकाे थियाे । स्थानीय र सशस्त्र प्रहरीबीच बुधबार झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २२ वर्षे अविनाश रायको सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो ।