काठमाडौं, ३ फागुन।
रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडकखण्ड अन्तर्गत हर्साहा चौकमा स्कर्पियो पिकअप गाडीको ठ-क्करबाट २ जनाकाे ज्यान गएको छ। ठक्करबाट एकजना नेपाल प्रहरीका असई र एक जवान घाइते भएका छन् ।
बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपले गएराती साढे ८ बजे हर्साहा चौकमा ठ-क्कर दिंदा २ जना पैदल यात्रुको मृत्यु भएको हो। मृत्यु हुनेमा बृन्दाबन नगरपालिका ६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षिय हरिकुमार ठाकुर रहेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी श्रीराम भण्डारीले बताए । उनले भने ड्युटीमा रहेका प्रहरी चौकी हर्साहा प्रमुख असई उपेन्द्र यादव र जवान मुस्तुफा अंसारी घाइते भएका छन । असई यादवको गरुडा स्थित सामुदायिक अस्पताल र जवान अंसारिको बिरगंजमा उपचार भैरहेको छ ।
गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर लैजाने क्रममा राति मृत्यु भएको डिएसपी भण्डारीले जानकारी दिए । ठक्कर दिने गाडी चालक मौलापुरका संजय पाण्डे र अर्का गाडीमा सवार सोही ठाउँका कुन्दन पाण्दे पक्राउ परेका छन ।
मृतकका आफन्तहरुले दुबै शव हर्साहा चौकमा राखेर दोषीलाई कार्वाही र क्षतिपूर्तिको माग गर्दै बिहीबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन । सो क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरी चन्द्रनिगाहपुरबाट गौर जाने गाडीहरुलाई वैकल्पिक बाटोको प्रयोग गराईरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
दुर्घटनाको कारणबारे अनुसंधान भैरहेको प्रहरीले जनाएको छ ।





