
बर्दघाट, पश्चिम नवलपरासी ।
सूर्तीजन्य पदार्थ नियन्त्रण ऐन, कानुन, कार्यनिर्देशिका तथा रणनीति तथा मदिराजन्य पदार्थको रोकथाम, नियन्त्रण र नियमन सम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रम शुक्रबार बर्दघाट नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा सूर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रयोग न्यूनीकरण, कानुनी व्यवस्था तथा प्रभावकारी कार्यान्वयनका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत भरतबहादुर कुँवरले नेपालमा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी कानुनी व्यवस्था, नीति तथा कार्यान्वयनका पक्षबारे सहजीकरण गर्नुभएको थियो। त्यसैगरी जनस्वास्थ्य अधिकृत सन्देश पौडेलले मदिराजन्य पदार्थको वर्तमान अवस्था, यसले स्वास्थ्य तथा समाजमा पार्ने असर र नियन्त्रण तथा नियमनका उपायबारे प्रस्तुति दिनुभएको थियो।
अन्तरक्रियामा जिल्ला प्रशासन कार्यालय नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारी, स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका मनोविद् राजु सिंह भण्डारी, पत्रकार विष्णु खनाल, उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने तथा उद्योग व्यापार संघका सदस्य खुमाकान्त न्यौपानेलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा नगर उपप्रमुख रुद्रप्रकाश उपाध्याय, स्वास्थ्यकर्मी कृष्णहरि पौडेल, रिकमान श्रेष्ठ, महिला स्वास्थ्य स्वयंसेविका, विभिन्न विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नगर स्वास्थ्य प्रमुख ईश्वरीप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूले सूर्तीजन्य तथा मदिराजन्य पदार्थको प्रयोग नियन्त्रणका लागि समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।















