
इस्लामाबाद — पाकिस्तानको कराँची सहरमा शनिबार ग्यास विस्फोट हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अरु १५ जना घाइते भएका छन् ।
बन्दरगाह सहर कराँचीको पराचा चोकमा रहेको बैंकको भवनमा विस्फोट भएको थियो । घटनापछि उद्वारकार्य तीव्र पारिएको छ । घाइतेहरूलाई नजिकका अस्पताल लगिएको छ ।
विस्फोटको क्रममा भवनको संरचना भत्किनुका साथै झ्याल, ढोकाहरू उछिट्टिएर बाहिर उडेका थिए । विस्फोटको क्रममा घटनास्थलको भिडियो फुटेज सामाजिक सञ्जालमा पनि व्यापक रुपमा सार्वजनिक गरिएको छ । घटनापछि १५ जनालाई नजिकका अस्पतालमा उपचारका लागि लगिएको पाकिस्तानको सञ्चारमाध्यम डन न्यूजले जनाएको छ ।
घटनास्थलमा उक्त भवन नजिकै पार्क गरिएका कार र मोटरसाइकल पनि विस्फोटको क्रममा क्षतिग्रस्त बनेका थिए । स्थानीय सञ्चारमाध्यमका अनुसार सरकारले घटनाको छानबिन गरने जनाएको छ ।
यद्यपि प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार भवनको तल्लो तलामा रहेको ग्यास चुहिएर पड्किएको थियो । प्रहरीले उक्त घटना कुनै समूहले आक्रमण गरेको कुनै प्रमाण नभेटिएको जनाएको छ । पाकिस्तानमा हरेक वर्ष ग्यास पड्किएर यस्तै प्रकृतिका घटना दोहोरिने गरेका छन् ।




