इस्लामाबाद — कुपोषणका कारण पाकिस्तानमा १७ लाख ७ हजारभन्दा बढी बालबालिकाको ५ वर्षभन्दा कम उमेरमै मृत्यु हुने गरेको खाद्य सुरक्षा तथा अनुसन्धानमन्त्री सैयद फखर इमामले बताएका छन् ।
‘पाकिस्तानमा सूक्ष्म पोषक तत्त्वहरूको कमी व्याप्त छ र यसले बालबालिकाको रोग प्रतिरोध क्षमता, वृद्धि र मानसिक विकासमा गहिरो असर पार्ने गरेको छ,’ इमामलाई उद्धृत गर्दै प्रभात नामक पाकिस्तानी पत्रिकाले लेखेको छ ।
मन्त्री इमामले पाकिस्तानमा ५० लाखभन्दा बढी मानिसहरूले हाम्रो स्वास्थ्यका लागि महत्त्वपूर्ण सूक्ष्म पोषक तत्त्व जिंकको अभाव हुने गरेको स्वीकार गरे । ‘हार्भेस्टप्लस’ को सहयोगमा पाकिस्तानमा परम्परागत तीन किसिमका जैविक गहुँ बाली लगाउन प्रोत्साहनका लागि बजारमा बीउ पठाइएको छ,’ उनले भने । यस वर्ष ३ लाख ६० हजार हेक्टरमा जैविक रूपमा सुदृढ गहुँका जातीहरू खेती गरिएको उनले जनाए ।
बाली लगाउने समयमा चालु बालीसँगै १ लाख ६० हजार मेट्रिक टनभन्दा बढी जैविक रूपमा गहुँको दाना उत्पादन हुने अपेक्षा गरिएको फाखर इमामले बताए । कुपोषण र खानपानका कारण मृत्युदर बढ्न गएको अधिकारीहरूको भनाइ छ ।





