काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी आइतवारदेखि चारदिने औपचारिक चीन भ्रमणमा जाने भएका छन्। हालै तीनदिने भारत भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएका मन्त्री खनाल चीनको उच्चस्तरीय निमन्त्रणामा बेइजिङ जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै चीनका विदेशमन्त्री वाङ यी को निमन्त्रणामा मन्त्री खनाल जेठ ३१ गतेदेखि असार ३ गतेसम्म चीन भ्रमणमा रहने जानकारी दिएको छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा बेइजिङमा मन्त्री खनाल र उनका चिनियाँ समकक्षी वाङ यीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने, आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने तथा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे छलफल हुने बताइएको छ।
भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय नेतृत्वसँग समेत शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी प्रवर्द्धन कार्यक्रममा सहभागी हुनेछन्। उनले चिनियाँ उद्योगी तथा व्यवसायीहरूसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि तय गरिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुँदै मन्त्री खनालले चीनमा रहेका नेपाली समुदायसँग समेत भेटघाट तथा अन्तरक्रिया गर्नेछन्। उनी असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।
यसअघि मन्त्री खनालले जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमण गरेका थिए। भारत भ्रमण लगत्तै हुन लागेको चीन भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण मानिएको छ।
यता, भारत र चीनले नेपाली दाबी रहेको लिपुलेक क्षेत्र हुँदै व्यापारिक मार्ग सञ्चालनलाई अघि बढाएको विषय नेपालका लागि संवेदनशील मुद्दा बनेको छ। त्यसैले चीन भ्रमणका क्रममा नेपालले लिपुलेक सम्बन्धी आफ्नो धारणा र चासोलाई औपचारिक रूपमा उठाउन सक्ने अनुमान गरिएको छ।















