कृष्ण ढकाल, बर्दघाट । मुस्लिम र हिन्दु समुदायको आस्थाको केन्द्रका रुपमा रहेको पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउ“पालिकामा पर्ने मदारबाबा मेला आज (शनिवार) देखि सकिएको छ ।
लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सिमानामा पर्ने चुरेक्षेत्रको डाँडामा रहेको मदरबाबाको समाधिस्थलमा मठाधिश राख्ने सम्बन्धमा दुई प्रदेश बिच भएको निर्णय बिपरित अर्कै मठाधिश राखेका प्रति कुतबुलमदार शाह दरगाह कमेटी सुस्ताले आपत्ति जनाउदै विज्ञप्ती जारी गरेको छ ।
कुतबुलमदार शाह दरगाह कमेटीका अध्यक्ष निजामुद्धिन मियाँ, मुख्तर मियाँ र मठाधिश बाबा मौलाना अमिरुल्लाह अन्सारीले संयुक्तरुपमा हस्ताक्षरगरी जारी गरेको विज्ञप्तीमा दुबै प्रदेशका जनप्रतिनिधि, प्रहरी प्रशासन र प्रमुख जिल्ला अधिकारी सहितको बैठकले गरेको निर्णय विपरित मदारको डाँडामा रहेको समाधिस्थलमा मठाधिश राखीको भन्दै खेद ब्यक्त गरीएको छ ।
हिन्दु र मुस्लिम सबै समुदायका मानिसहरुको साझा आस्थाको केन्द्रका रुपमा रहेको मदारबाबा पुगेर दर्शन गरेमा मनोकामना पुरा हुने धार्मिक स्थलका रुपमा परिचित उक्त मदारबाबाको दर्शनका लागि बषौं देखि नेपाल र भारतका बिभिन्न स्थानहरुवाट लाखौंको संख्यामा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्ने गर्दछ ।
मदारबाबा पुगेर वर मागेमा विभिन्न दिर्घरोगका विरामी, बच्चा नपाउने दम्पती, विवाह नभएका युवायुवती, आपत विपतमा परेका परिवारहरुको मनोकामना पुरा हुने जनविश्वास कै कारण यस बर्ष पनि करिव १८ लाख भन्दा बढी श्रद्धालु भक्तजनहरुले मदार बाबाको र्दशन गर्न आएको कुतबुलमदार शाह दरगाह कमेटीका मठाधिश बाबा मौलाना अमिरुल्लाह अन्सारीले बताउनु भएको छ । उक्त स्थलमा गद्दी नसिन बाबाहरु बस्ने गर्दछन् ।
यो मेला मुस्लिम समुदायको भएपनि यसलाई हिन्दु र मुस्लिमको आस्थाको केन्द्र मानिने गरिन्छ । मदारबाबाको मजारमा भाकल, दुख तथा मनोकामना लिएर आउने श्रद्धालुहरुको भाकल तथा मनोकामना पुरा हुने र सन्तान नहुने दाम्पतीले सन्तान पाउने तथा दुखियाको दुखहरण हुने मुल्य मान्यता र विश्वास रहि आएको मदार बाबाका मठाधिश बाबा अमिरुल्लाह अन्सारीले बताउनु भयो ।





