नवलपरासी, पुस १३ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना गल्ती र कमजोरी छोप्नका लागि ‘राजा’लाई गाली नगर्न आग्रह गरेका छन्।
विगत १५ वर्षको गलत राजनीतिक अभ्यासका कारण देशको राजनीति लिक बाहिर गएको भन्दै त्यसलाई लिकमा ल्याउन संघर्ष गर्नुपर्नेमा जोड दिए। ‘राप्रपाले अवलम्बन गरेको नीति र मार्गचित्रले मात्र राजनीतिलाई सही ट्र्याकमा हिँडाउन सकिन्छ’ राप्रपाको नवलपुरको कावासोतीमा आयोजित पार्टीको गण्डकी प्रदेशको विस्तारित बैठक र आमसभालाइ सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने– ‘तर केही दलका नेताले यदाकदा आफ्नो गल्ती र कमीकमजोरी ढाकछोप गर्न राजालाई गाली गर्ने प्रवृत्ति बढेको छ, राजालाई गाली गरेर राजनीति गर्ने र राजनीति टिकाउने दिन अब गए।’
राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले कांग्रेस र कम्युनिस्ट शासन गर्न असफल प्रमाणित भइसकेको उल्लेख गर्दै विकास, प्रगति र समृद्धिका लागि अब नेपाली जनतासँग पर्खने समय नरहेको उल्लेख गरे। अर्का उपाध्यक्ष ध्रुव बहादुर प्रधानले देशका विकृति विसंगतिका विरुद्ध जनता आन्दोलित हुनुपर्ने बेला आएको र जनताको तागत पटक पटक परिवर्तन गरिसकेका राजनीतिक शक्तिलाई अवगत रहेको स्मरण गराए।
केन्द्रीय सदस्य ताहिर अलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महेन्द्रराय यादवले राजिनामा दिनु पर्ने बताएका छन । अहिले किसानहरुले खेतमा गहुुँ छर्ने समयमा सरकारले मल उपलब्ध गराउन नसकेको भन्दै अलिले मन्त्री यादवको राजिनामा मागेका हुन् ।
मन्त्री यादवले केही दिन अगाडी रासायनिक मलको अभाव तत्काल समाधान गर्न सम्भव नभएकाले प्राङगारिक मल प्रयोग गर्न किसानलाई सुझाव दिएका थिए ।
कार्यक्रममा महामन्त्री भुवन पाठक, नेताहरू निलकण्ठ काफ्ले, हेमजङ गुरुङ, विन्दु पहाडी पौडेल, विष्णु अधिकारी लगायतले सम्बोधन गरेका थिए।















