रंजीत शर्मा, नवलपरासी
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका आज एक भव्य समारोहका बिच जिल्लाको दोस्रो बालमैत्री नगर घोषणा भएको छ । पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासीमा आयोजित रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा समारोहमा प्रमुख अतिथि एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले घोषणा पत्र पढेर घोषणा गर्नु भएको हो ।
रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्दै मुख्यमन्त्री केसीले रामग्राम नगरपालिका र सम्पुर्ण नगरबासीहरुलाई बधाई तथा शुभकामना पनि ज्ञापन गर्नु भयो । मुख्यमन्त्री केसीले समारोहलाई सम्बोधन गर्दै लुम्बिनी सरकार समग्र क्षेत्रको विकासका कार्यमा अगाडी बढिरहेको जिकिर गर्नु भयो ।
रामग्राम नगरपालिकाले ताकिएको ५१ वटा सुचक पुरा गरेपछि आज भव्य समारोहका बिच बालमैत्री नगरपालिका घोषणा भएको हो । बालमैत्री घोषणा समारोहका अध्यक्ष एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले आफनो प्रतिवेदन प्रस्तुत गर्दै यसको निरन्तरताका लागि आगामी ५ बर्षको लागि ७ करोड बढि बजेटको रणनैतिक योजनाहरु समेत बनाई सकिएको जानकारी दिनु भयो ।
बालमैत्री नगर घोषणा गर्नुको अर्थ सबै घर दूरीमा पियुने योग्य पानी,सबै प्रकारको खोप,सबै घरमा शौचालय,गर्भवती महिलाको समय समयमा चेक जाँच, पूर्ण मात्रमा आइरन चक्की खाएको, बाल विवाह ,बालश्रममा कमी आएको, सबै बालबालिका शिक्षामा पहुँचमा पुगेको तथा संस्थागतका सबै कार्यहरु पूरा भएको बुझ्न सकिन्छ। नगर बालमैत्री घोषणा भएपछि अतिथि र सहभागीहरुले यसको निरन्तरता र दिगोपनाका लागि प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन्।
बालमैत्री नगर घोषणाकाे लागि मुख्यत ४ वटा क्षेत्र बाल बचाउ,बालबिकास ,बाल संरक्षण र संस्थागत बिकास मुख्यतः रहेकाे यस सुचकमा कुनैमा ८० प्रतिशत ,९० प्रतिशत र कुनै सुचकमा १०० प्रतिशत त्यस्तै ६ सूचकमा ९५ प्रतिशत उपलब्धि, एउटा सूचकमा ९० प्रतिशत र ६ सूचकमा ८० प्रतिशत नतिजा प्राप्त गरेको छ । रामग्राम नगरपालिकाको १८ वार्डमा कुल १०२ वटा बालक्लबहरु सक्रिय रहेका छन् भने नगरपालिकामा कुल २० हजार ८ सय २६ बालबालिका रहेका छन् ।
कार्यक्रममा बालमैत्री नगर बनाउनमा भुमिका खेल्ने पत्रकार, शिक्षक, विद्यालय,समाजसेवी, कर्मचारी लगायतहरुलाई सम्मान पनि गरिएको थियो । नगर बाल सञ्जालकी अध्यक्ष गोमा अग्रहरीको संयोजकतामा भएको बालमैत्री घोषणा कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पुर्व लुम्बिनी प्रदेशका मन्त्री तथा प्रवक्ता बैजनाथ चौधरी, सदस्य बैजनाथ जयसवाल, संविधानसभा सदस्य विक्रम खनाल, राजनितिक दलको तर्फबाट पुरन चौधरी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, उद्योग बाणिज्य संघका महासचिव गिरीराज पाण्डे, नगर शिक्षा अधिकारी रुद्र प्रसाद रेग्मी लगायतले शुभकामना सहित बधाई ज्ञापन गरेका थिए भने स्वागत मन्तव्य नगर उप-प्रमुख रम्भा कुँवरले गर्नुभएकाे थियाे ।





