
बर्दघाट, पश्चिम नवलपरासी ।
नेपाली लोकसंगीतका युगपुरुष तथा रेडियो नेपालका चर्चित लोकगायक स्वर्गीय लोकबहादुर क्षेत्रीको सालिक अनावरण कार्यक्रम पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१३, धनेवास्थित उहाँकै निवासमा बिहीबार सम्पन्न भएको छ।
स्व. लोकबहादुर क्षेत्री स्मृति प्रतिष्ठान तथा परिवारको आयोजनामा सम्पन्न कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्याय प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। सालिक अनावरणपछि बोल्दै उपप्रमुख उपाध्यायले बर्दघाट नगरपालिकाले भाषा, कला, संस्कृति तथा साहित्यका क्षेत्रलाई समेटेर विभिन्न अभियान र कार्यक्रम नगरले संचालन गरिरहेको बताउनुभयो।
उहाँले स्व. लोकबहादुर क्षेत्रीले नेपाली लोकसंगीत, कला र साहित्यको क्षेत्रमा पुर्याउनुभएको योगदानको तुलनामा उहाँको उचित मूल्याङ्कन र सम्मान अझै पर्याप्त रूपमा हुन नसकेको उल्लेख गर्नुभयो। “परिवार, आफन्त र शुभेच्छुकहरूले उहाँको योगदानअनुसार सम्मान हुन नसकेको गुनासो गर्नु स्वाभाविक हो, र “त्यो गुनासो सुन्ने र सम्बोधन गर्ने जिम्मेवारीको हिस्सा हामी पनि हौं।” भन्नुभयो ।
स्व. क्षेत्रीको सालिक उहाँका सुपुत्र रोहित क्षेत्रीको पहलमा निर्माण गरी स्थापना गरिएको हो।
कार्यक्रममा वाजिला समूह सुर्खेतका गायक शेरबहादुर आचार्य, कलाकार बसन्त रेग्मी, स्व. क्षेत्रीका सुपुत्र रोहित क्षेत्री, वराल वंश प्रतिष्ठानका अध्यक्ष खिमानन्द बराल, कलाकार वल बहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले स्व. क्षेत्रीको योगदानको स्मरण गर्दै उहाँको घरलाई संग्रहालयका रूपमा विकास गरी भावी पुस्तालाई उहाँको जीवन, संघर्ष र सांगीतिक यात्रासँग परिचित गराउनुपर्ने आवश्यकता औँल्याए।
उक्त अवसरमा स्व. लोकबहादुर क्षेत्रीद्वारा गाइएका चर्चित लोकगीतहरू प्रस्तुत गरिएका थिए। सहभागी कलाकार तथा वक्ताहरूले उहाँका लोकप्रिय गीतहरू गाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।
वक्ताहरूले बर्दघाट नगरपालिका–४ स्थित त्रिवेणी बसपार्क नजिक निर्माण गरिएको लोकबहादुर स्मृति पार्क तथा त्यहाँ रहेको सालिकको संरक्षण, प्रवर्द्धन र व्यवस्थापनमा समेत सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्नेमा जाेड दिए ।
साहित्यकार डा. शिवशंकर बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन राधिका खतिवडा डोटेलले गर्नुभएको थियो।
गुल्मी जिल्लामा वि.सं. २०१७ साल माघ १५ गते जन्मनुभएका स्व. लोकबहादुर क्षेत्री नेपाली लोकसंगीतका विशिष्ट प्रतिभा मानिनुहुन्छ। रेडियो नेपालमार्फत लोकप्रियता हासिल गर्नुभएका क्षेत्रीको वि.सं.२०५० साल पुस ६ गते पश्चिम नवलपरासीको महुराहाटाडी क्षेत्रमा भएको ट्रक दुर्घटनामा निधन भएको थियो। “आमा रुँदै गाउँबेसी मेलैमा” लगायत दर्जनौँ लोकगीतमार्फत उहाँले नेपाली लोकसंगीतमा अमिट छाप छोड्नुभएको छ।
कार्यक्रमका सहभागीहरूले स्व. लोकबहादुर क्षेत्रीको योगदानलाई नयाँ पुस्तामाझ चिनाउन तथा उहाँका सिर्जना, स्मृति र सांगीतिक सम्पदाको संरक्षण गर्न राज्य, स्थानीय तह र सरोकारवाला निकायले थप पहल गर्नुपर्नेमा जोड दिएका छन् ।















