सेयर बजारबारे ओलीले दलाल पुँजीपति वर्गको एजेन्टका रुपमा टिप्पणी गरे : दाहाल

22

काठमाडौँ — सेयर बजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका अध्यक्ष केपी ओलीबीच विवाद चलेको छ । पछिल्लो समय ओलीले गरेको टिप्पणीप्रति दाहालले आलोचना गरेका छन् । एक प्रेस वक्तव्य जारी गर्दै दाहालले भनेका छन् ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधीकार पुँजीवादबारे गरेको विश्लेषणमाथि गरिएको टिप्पणीलाई दलाल पुँजीपति वर्गको एजेन्टको टिप्पणीका रुपमा खारेज गर्दछु।’

साथै दाहालले यसअघि आफूले गरेको विश्लेषण सही रहेको समेत टिप्पणी गरेका छन् । उनले भनेका छन् ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दावीसहित नेपालको सेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’ यसअघि गत शनिबार दाहालले पुँजीवादको विकासले जनताको हित नगर्ने भन्दै धितोपत्र बजारलाई साम्राज्यवादको विकसित रुपमा टिप्पणी गरेका थिए ।

बुधबार त्यहीं भनाइलाई लिएर एमाले अध्यक्ष केपी ओलीले कडा टिप्पणी गरेका थिए । ओलीले भनेका थिए ‘प्रचण्डले बडो क्रान्तिकारी, साम्राज्यवादको विकसित रुप सेयर बजार भनेछन्, लेनिनलेभन्दा पनि बढ्तै जान्ने भएछन्, लेनिनले पुँजीवाद विकसित हुँदा साम्राज्यवाद हुन्छ भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवादको विकसित रुप सेयर बजार भनेर प्रचण्डले नयाँ थेसिस ठोक्दिए, दुई दिनमै सेयर बजार धराशायी ।’

सेयर कारोबारीले चन्दा नदिएको झोंकमा बजारलाई दाहालले ध्वस्त पारिदिन खोजेको उनको आरोप थियो । दाहाललाई लक्षित गर्दै ओलीले भनेका थिए ‘कुन सेयर कारोबारीले चन्दा दिएन होला अनि, ए चन्दा नदिने ध्वस्त बनाइदिन्छु, नरहे बाँस नबजे बाँसुरी भनेजस्तो ।’