मन्त्रिपरिष्दको निर्णय अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जेठ १ गतेदेखि लागू हुने गरी हप्ताको दुई दिन बिदा दिन निर्देशन दिइसकेको छ । तर केही स्थानीय तह र त्रिभुवन विश्वविद्यालयले भने तत्काल हप्ताको दुई दिन बिदा लागू नगर्ने जनाएका छन् ।
बुढानीलकण्ठ नगरपालिकाले वैशाख २९ गते र भक्तपुर नगरपालिकाले गत आइतबार सूचना जारी गर्दै गत आइतबार बिदा नदिन विद्यालयहरुलाई निर्देशन दिएको छ । भक्तपुर नगरपालिकाले भने कुनै समस्या उल्लेख नगरी नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न भनेको छ । नगरपालिकाका शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले पालिकामा जनप्रतिनिधि नहुँदा निर्णय गर्न नसकिएकाले साबिककै अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको बताए । उनले भने, ‘अहिले इलेक्टेड बडी नभएकोले बिदा लागू गराउने निर्णय गर्न सम्भव भएन । अब इलेक्टेड बडी आउन बित्तिकै निर्णय हुन्छ ।’ यस्तै त्रिभुवन विश्वविद्यालयले पनि हप्ताको दुई दिन बिदा कार्यान्वयन नगर्ने भएको छ ।





