काठमाडौँ, साउन ११ । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ (साबिक कप्तानगञ्ज वडा नं. ४) मा भएको हिंसात्मक घटनाप्रति नेपाल कुशवाहा कल्याण समाज, केन्द्रीय कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
समाजद्वारा जारी प्रेस विज्ञप्तिअनुसार साउन १० गते राति करिब ११:१५ बजे दुई समुदायबीच विवाद हुँदा उत्पन्न झडपका क्रममा गोली प्रहारबाट १३ जना स्थानीय र ९ जना प्रहरी घाइते भएका थिए। उपचारका लागि लैजाँदै गर्दा करिब २२ वर्षीय ओमप्रकाश मेहता (किसुन देव मेहताका छोरा) को मृत्यु भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा दिवंगत ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। साथै, घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
नेपाल कुशवाहा कल्याण समाजले घटनासम्बन्धी चारबुँदे मागसमेत अघि सारेको छ। समाजले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि निष्पक्ष र कडा कारबाही गर्न, दोषीलाई उम्कन नदिई कानुनी प्रक्रिया अगाडि बढाउन, घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ।

समाजले सम्पूर्ण समुदायलाई संयमता अपनाउन, सामाजिक एकता, धार्मिक सहिष्णुता तथा शान्ति–सुरक्षा कायम राख्न र कानुनी प्रक्रियामार्फत न्याय सुनिश्चित गर्न सहयोग गर्न पनि आग्रह गरेको छ।
उक्त विज्ञप्तिमा नेपाल कुशवाहा कल्याण समाजका महासचिव जय प्रकाश महतो र अध्यक्ष राकेश मेहता ले हस्ताक्षर गरेका छन्।


















