१७ साउन, सुस्ता । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नेपालले निर्माण गर्न लागेको अस्थायी तटबन्धलाई लिएर आइतबार नेपाल–भारत सीमा क्षेत्रमा तनाव उत्पन्न भएको छ। भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माण कार्यमा अवरोध गरेको आरोप स्थानीयले लगाएका छन् भने नेपाली सुरक्षा स्रोतले भने तटबन्ध नभई भारतीय भूमितर्फ खसेको माटो हटाइएको जनाएको छ।
आइतबार दिउँसो करिब साढे ३ बजेतिर सादा पोसाकका करिब १५ जना र हतियारसहितका करिब ६० जना एसएसबीका जवान सुस्ता गाउँपालिका–५ थारु टोल क्षेत्रमा पुगेकाे स्थानीय बाबु खानले बताए । खान का अनुसार उनीहरूले नेपालले निर्माण गरिरहेको करिब १३२ मिटर लामो माटोको अस्थायी तटबन्ध भत्काएको बताएका छन्।
स्थानीयले विरोध जनाउँदै प्रतिकारमा उत्रिएपछि केहीबेर एसएसबी र स्थानीयबीच भनाभन तथा सामान्य झडप भएको थियो। स्थानीय मुन्ना खाँका अनुसार झडपका क्रममा नेपालीतर्फ तीन–चार जना स्थानीय र भारतीय एसएसबीका तीन–चार जना जवान सामान्य घाइते भएका छन्।
स्थानीयका अनुसार विवाद सुस्तास्थित नेपाल–भारत सीमा मानिएको स्थानमा निर्माण हुन लागेको तटबन्धको अगाडिको भाग (नोज) को केही हिस्सा भारतीय भूमिमा परेको दाबी गर्दै एसएसबीले हस्तक्षेप गरेको हो।
यद्यपि नेपाली सुरक्षा स्रोतले भने घटनालाई फरक रूपमा व्याख्या गरेको छ। सुरक्षा स्रोतका अनुसार एसएसबीले नेपालले बनाइरहेको सम्पूर्ण तटबन्ध भत्काएको होइन। तटबन्ध निर्माणका क्रममा टालीबाट खसालिएको केही माटो भारतीय भूमितर्फ पुगेको भन्दै एसएसबीले त्यही माटो हटाएको हो।
यसअघि गत असार महिनामा पनि भारतीय सुरक्षाकर्मीले यही क्षेत्रमा पुगेर तटबन्ध निर्माण रोक्न दबाब दिएको भन्दै निर्माण कार्य प्रभावित भएको थियो।
घटनापछि अप्रिय अवस्था सिर्जना हुन नदिन नेपाल सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा परिचालन गरिएको छ। घटनाबारे दुवै देशका सुरक्षा निकायबीच थप समन्वय र छलफल हुने अपेक्षा गरिएको छ।


















