राजन कुमार बानिया
जनप्रतिनीधि र कर्मचारीबिच विवाद भईरहने पर्साको धोबिनी गाउँपालिकामा पुनः एक कर्मचारीमाथी जनप्रतिनीधिले दुर्व्यवहार गरेका छन् ।
गाउँपालिकाका योजना शाखा प्रमुख पप्पु पटेललाई वडा नम्बर १ की वडा सदस्य शान्तिदेवीका श्रीमान धर्मन राउत कुर्मीसहित ठेकेदार र स्थानीय गाली गलौजसहित धम्की दिँदै २ घण्टासम्म कोठाभित्र थुनेर दुर्व्यवहार गरेका हुन् ।
योजना शाखा प्रमुख पटेलको कार्यकक्षमै गएर गाली गलौज गर्नुका साथै ज्यान मार्ने धम्की दिएको योजना शाखाका प्रमुख पटेलले बताए।
गाउँपालिकाको मोटर खरिदको योजना आफु नजिकका ठेकेदारलाई दिनका लागि कसरत गरीरहेका वडा सदस्यका श्रीमानले अरुलाई ठेक्का नदिन दवाव दिएको बुझीएको छ ।
उक्त योजनाको कोटेसन अरुलाई नदिन दवाव दिएका वडा सदस्यका श्रीमान धर्मनले अरु व्यवसायीको फारम बुझेको भन्दै दुर्व्यवहार गरेको पटेलको भनाई छ ।
स्रोतका अनुसार धर्मनले ठेकेदार पक्षबाट कमिसन लिएर उनलाई नै मोटर खरिदका लागि जिम्मा दिने लगभग पक्कापक्की गरेका थिए । यता प्रक्रियाअनुसार ति ठेकेदारभन्दा सस्तोमा कोटेशन दिने देवरीमाई सप्लायर्सलाई कोटेशन परेपछि उनीहरुले योजना प्रमुख पटेलमाथी आक्रोश पोखेका हुन् ।
बिहिवार दिउँसो २ बजेदेखि ४ बजेसम्म कार्यकक्षमा पटेललाई घेरा हाली राखेका थिए ।
पटेललाई प्रहरी घेराबाट बाहिर निकालेको नायब प्रहरी निरिक्षक रामपुकार शर्माले बताए ।
यता वडा सदस्यका श्रीमान धर्मन राउत कुर्मीले भने आफ्नो वडाको योजना आफ्नै ठेकेदारले पाउनुपर्ने दावी गरेका छन् । सोही विषयमा कुरा गर्न जाँदा बङ्ग्याएर प्रस्तुत गरेको कुर्मीको भनाई छ ।
कर्मचारीमाथी लछारपछार गर्दै कुटपिट गर्ने प्रयास गरेको भनदै नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति पर्साले पनि आपत्ति जनाएको छ । संगठनका पर्सा जिल्ला अध्यक्ष अमित कुमार गिरीले यस्ता किसिमका क्रियाकलापले राष्ट्र सेवक कर्मचारीको मनोवल कम हुने र यसले नियमित काममा पनि प्रभाव पर्ने बताए । अभद्र व्यावहार गर्ने कुर्मीमाथी कारवाही गरी योजना शाखाका प्रमुख पटेललाई न्याय दिन पनि संगठनले विज्ञप्तीमार्फत माग समेत गरेको छ ।















