काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ । नेपाल प्रहरीको मानवस्रोत एवं प्रशासन विभाग भर्ना छनोट महाशाखाले मंगलबार सूचना जारी गर्दै म्यादी प्रहरी भर्नाका लागि आवेदन आह्वान गरेको हो ।
‘स्थानीय तह निर्वाचन, २०७९ का लागि म्यादी प्रहरी भर्ना गर्नुपर्ने भएकाले योग्यता पुगेका नेपाली नागरिकबाट स्वयं उपस्थित भई दरखास्त आह्वान गरिन्छ’, सूचनामा उल्लेख छ ।
म्यादी प्रहरीमा एक लाख भर्ना गरिने बताइएको छ । सार्वजनिक बिदा बाहेक यही चैत ६ देखि ११ गतेसम्म भर्नाका लागि दरखास्त दिन सकिने जनाइएको छ । महानगरीय प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) तथा जिल्ला प्रहरी कार्यालयमा दरखास्त फारम बुझाउन सकिने छ ।

दरखास्तका लागि नेपाली नागरिक भएका, नैतिक पतन देखिने फौजदारी अभियोग नलागेका, कसुरदार ठहर नभएका, शारीरिक तथा मानसिक रुपले तन्दरुस्त, साधारण लेखपढ गर्न जान्ने तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को अनुसूची ३ मा उल्लेख भए बमोजिमको हुनुपर्ने उल्लेख छ । मुख्यगरी सुरक्षा निकायमा गत साउनदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेशपत्रको प्रतिलिपि पेस गर्ने, पूर्वसुरक्षाकर्मी तथा पूर्ववनरक्षक, विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई सन्तोषजनक कार्य गरेकालाई प्राथमिकता दिइने भएको छ ।





