9 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

हृदयेश त्रिपाठीलाई हराउँदै विनोद चौधरी चुनिने सम्भावना प्रबल

- Advertisement -

निर्वाचन विश्लेषणः नवलपरासी बर्दघाट सुस्ता पश्चिम- १

नवलपरासी पश्चिमको बर्दघाटबाट त्रिवेणी जाने बाटो लामो समयदेखि जीर्ण छ। निर्वाचनअघि मात्र यो सडकका केही खाल्डाखुल्डी पुरिए।

सडकको छेवैमा साइकल अड्याएर प्रतापपुर- १ का ४४ वर्षीय छोटेलाल चौधरीले निर्वाचनबाट चुनिने नेताले यो सडक बनाउने आशा व्यक्त गरे।

‘हुन त विनोद चौधरीले निर्वाचनअघि सडकको केही खाल्डाखुल्डी पुर्ने काम गरे,’ छोटेलालले भने, ‘अब थप काम केकसो हुन्छ, थाहा छैन।’

उद्योगपति विनोद चौधरी यसपटक नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नम्बर १ बाट गठबन्धनका तर्फबाट लड्दै छन्। जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठी पनि यहीँ प्रतिस्पर्धा गर्दै छन्।

नवलपरासी पश्चिमको यो निर्वाचन क्षेत्रबाट त्रिपाठी पाँचपटक संसदमा पुगिसकेका छन्। २०४८, २०५१ सालको मध्यावधि, २०५६, २०६४ र पछिल्लोपटक २०७४ सालमा नेकपा एमालेको चुनाव चिह्न लिएर उनले जित हात पारिसकेका छन्। पछिल्ला ३० वर्षमा उनी २०७० सालमा एकपटक मात्र पराजित भएका छन्।

दुईपटक समानुपातिक पद्धतिमार्फत संसदमा पुगेका चौधरी भने पहिलोपटक प्रत्यक्ष निर्वाचन लड्दै छन्।

चौधरीलाई सत्ता गठबन्धनको साथ छ भने गत निर्वाचनअघि मात्र जनता प्रगतिशील पार्टी बनाएका त्रिपाठीलाई नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को समर्थन छ।

दुवैतर्फ गठबन्धन बनेका कारण पनि यो क्षेत्रमा निर्वाचनको छुट्टै रौनक छ।

सेतोपाटी टिमले पछिल्ला केही दिनदेखि यो क्षेत्रका सुस्ता, प्रतापपुर, सरावल गाउँपालिकाका र बर्दघाट नगरपालिकाका अधिकांश वडामा पुगेर २९४ मतदातासँग कुराकानी गरेको छ।

हामीले कुराकानी गरेका मतदातामध्ये सबभन्दा धेरै ११८ जना (४० प्रतिशत) ले यसपालि चौधरीलाई मत दिने बताए। त्यस्तै त्रिपाठीलाई मत दिन्छु भन्ने संख्या ६३ (२१ प्रतिशत) छ। राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टी चुनाव चिह्न रोज्ने मतदाता ४९ जना (१६ प्रतिशत) छन् भने १५ जना (५ प्रतिशत) ले राप्रपा र ६ जना (२) ले अन्य दललाई मत दिने बताए।

४३ जना (१४ प्रतिशत) ले भने कसलाई मत दिने भन्ने निर्णय नगरिसकेको बताए। यो अनिर्णीत मत सबै त्रिपाठीलाई जाँदा समेत चौधरी अघि देखिन्छन्। बरू त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले नजिकबाट पछ्याउने देखिन्छ।

त्रिपाठीसँग यो क्षेत्रका केही मतदाता रूष्ट छन्। पटकपटक निर्वाचित भएर मन्त्री हुँदा, ३० वर्ष संसदमा पुग्दा समेत केही पनि काम नगरेको आरोप उनीमाथि छ।

चौधरीमाथि पनि केही मतदाताले दुईपटक समानुपातिकबाट सांसद बनेर पनि के नै गरे र भन्ने प्रश्न उठाएका छन्। तर चौधरीलाई मत दिन्छु भन्ने मतदाताले उनलाई नयाँ उम्मेदवारका रूपमा चित्रित गरेको पाइयो। चौधरीप्रति मतदाताले आशाको नजर राखेका छन्। उनले निर्वाचन क्षेत्रमा नयाँ उद्योग स्थापना र रोजगारी सिर्जना गर्ने वाचा गरेका छन् जसमा मतदातालाई आश छ। 

त्रिपाठीले पनि आफ्नो चकलेट उद्योग सुरू गरेको खबर मतदातालाई दिएका छन्। तर यत्रो वर्षसम्म उनले किन उद्योग स्थापना गरेनन् भनेर मतदाताले उनलाई प्रतिप्रश्न गरेका छन्।

‘मेरो ठाउँ सधैं बाढीले डुबानमा पर्छ। यत्रो वर्ष त्रिपाठीले केही गरेनन्। उनले पानीको निकास गराउन सकेनन्। हामीलाई विनोद चौधरीले तटबन्धको काम गरिदेलान् र अन्न खान पाउँला भन्ने आशा छ,’ सरावल- ५ धनगढवाका भक्तमणि चौधरीले भने, ‘एकपटक नयाँलाई हेर्ने हो।’

विनोद चौधरीलाई मत दिन्छु भन्ने ११८ मतदातामध्ये ८० जना परम्परागत रूपमा कांग्रेसकै मतदाता हुन्। विगतमा हृदयेश त्रिपाठीलाई मत दिएका २२ जनाले यसपटक चौधरीलाई मत दिने बताए। २०७४ को निर्वाचनमा त्रिपाठीले एमालेको चुनाव चिह्न लिएका कारण यसपटक चौधरीलाई मत दिन्छु भन्ने कतिपय मतदाता परम्परागत रूपमा एमालेका मतदाता हुन्।

त्यस्तै पहिलोपटक मत दिन लागेका ९ जना नयाँ मतदाताले चौधरीलाई मत दिने बताए। विगतमा माओवादी केन्द्रलाई मत दिएका २ जना, राप्रपालाई मत दिएका २ र जसपालाई मत दिएका ३ जनाले पनि यसपालि चौधरीलाई मत दिने बताए।

विनोद चौधरीलाई मत दिन्छु भन्ने धेरैका फरकफरक आशा छन्।

‘हामी ३६ सालदेखि यहाँ बसेका हौं। जग्गाको पुर्जा पाएका छैनौं। ३० वर्षजति हृदयेशलाई भोट हाल्यौं,’ बर्दघाट- १३ की फूलमती चौधरीले भनिन्, ‘बाढी डुबान भएको ठाउँबाट उठाएर हामीलाई यहाँ राखियो, तर पुर्जा अहिलेसम्म पाएनौं। अब चौधरीले घर भएको ठाउँको पुर्जा दिलाउँछन् कि भन्ने आशा छ।’

त्रिपाठीको घर भएको क्षेत्र प्रतापपुर क्षेत्रमा समेत यसपटक गठबन्धनले प्रभाव विस्तार गरेको छ।

‘हृदयेशसँग आन्दोलनमा जाँदा धेरै यातना खेपेँ। प्रहरीले पिट्यो, थुन्यो। सत्तामा पुगेपछि कहिल्यै वास्ता गरेनन्,’ प्रतापपुर- ४ का ७० वर्षीय अलियास मियाँले भने, ‘संसदमा पुगेपछि उनले धोती र टोपीको कुरा गरे। त्यो उचित लागेन।’

यो क्षेत्रमा त्रिपाठीको प्रभाव नभएको भने होइन। सरकारमा नभएका बेला समेत भारतीय सहयोगमा विद्यालयहरू स्थापना गराउन भूमिका खेलेको भन्दै उनको तारिफ गर्नेहरूको कमी छैन यहाँ।

२०७४ सालमा सूर्य चिह्न लिएर चुनाव लडेका कारण त्रिपाठीलाई अहिले मत दिन्छु भन्ने कति मतदाता एमालेका हुन् र कति त्रिपाठीको पार्टी जनता प्रगतिशील पार्टीका हुन् भन्ने छुट्टिन गाह्रो छ। बर्दघाट क्षेत्रमा एमालेको प्रभाव राम्रो छ भने सुस्ता र प्रतापपुर क्षेत्रमा त्रिपाठीको प्रभाव राम्रो छ। कांग्रेसका केही मतदाताले पनि यसपटक त्रिपाठीलाई मत दिने बताए।

‘म नेपाली कांग्रेसको मान्छे हो। तर हृदयेशलाई मत दिन्छु,’ प्रतापपुर- २ का दीपक चापागाईंले भने, ‘विनोद चौधरीको राजनीतिक योगदान छैन, उनले चुनाव जितेपछि जनताले भेट्न समेत पाउने छैनन्।’

कांग्रेसका कतिपय मतदाताले संशय भए पनि चौधरीलाई मत दिने बताए।

‘विनोद चौधरी धनी मान्छे छन्, भ्रष्टाचार नगर्लान्,’ बर्दघाट- १५ की विजया पौडेलले भनिन्, ‘उनलाई कमाउनु नभएकाले केही गर्लान् भन्ने आशा छ। फेरि चुनाव लड्ने सोच रहेछ भने काम पनि गर्लान् नि भन्ने लागेकाले उनैलाई मत दिन्छु।’

त्रिपाठीलाई मत दिन्छु भन्ने ६३ मतदातामध्ये विगतमा सूर्यमा मत दिएका ५० जना छन्। त्यस्तै विगतमा कांग्रेसलाई मत दिएका ५ जनाले र माओवादी केन्द्रलाई मत दिएका १ जनाले पनि त्रिपाठीलाई मत दिने उल्लेख गरे। उनलाई मत दिन्छु भन्ने बाँकी ७ जना नयाँ मतदाता हुन्।

प्रतापपुर- १ का हृदयेश चौधरीले विगतदेखि नै आफूलाई त्रिपाठीले सरसहयोग गरेकाले उनैलाई मत दिने बताए।

‘हामीले पहिला पनि हृदयेश त्रिपाठीलाई दिएको हो, अहिले पनि उहाँलाई नै मत दिन्छु,’ उनले भने।

त्यस्तै पहिलोपटक निर्वाचनमा सहभागी हुन लागेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यहाँ राम्रो उपस्थिति जनाउने देखिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट महेन्द्रसिंह ठकुरी उम्मेदवार छन्।

घन्टीमा मत दिन्छु भन्ने ४९ जनामध्ये पहिले एमालेलाई मत दिएका मतदाता २२ जना छन्। त्यस्तै विगतमा कांग्रेसलाई मत दिएका १९ जनाले पनि यसपटक घन्टीमा दिने बताए। एमालेको आफ्नै उम्मेदवार नभएकाले यसपटक सबभन्दा धेरै एमालेकै मत घन्टीमा जाने देखिन्छ।

हामीले भेटेका पहिलोपटक मत खसाल्न लागेका युवामा पनि घन्टीको आकर्षण देखियो। हामीले भेटेका ८ नयाँ मतदाताले घन्टीमा मत दिने बताए। खासगरी बर्दघाट क्षेत्रको बजार क्षेत्रमा घन्टीको आकर्षण छ। विगतमा कांग्रेस र एमालेलाई मत दिएका, खासगरी युवा र महिला मतदातामा रवि लामिछानेको आकर्षणले घन्टी मा मत आउने देखिन्छ।

‘हिँड्न त म टोलमा कांग्रेसको घरदैलोमा हिँडेको थिएँ तर मेरो मत घन्टीमा जान्छ,’ बर्दघाट- २ की मनिषा थापाले भनिन्, ‘पुराना दललाई यसपटक मत नदिने।’

विदेश गएर फर्किएका मतदातामा पनि यसपटक नयाँ राजनीतिक दल र रवि लामिछानेको आकर्षण छ। 

प्रतापपुर-२ का राधेश्याम पासवानले भने, ‘म धेरै वर्ष विदेशमा थिएँ। नेपाल धेरै पछि परेको छ। अब यसपटक घन्टीलाई मत दिन्छु। केही नयाँ भइहाल्छ कि!’

यो क्षेत्रमा राप्रपाको पनि केही परम्परागत मत छ। हामीले राप्रपाको हलोमा मत दिने १५ मतदाता भेट्यौं जसमा हलोका परम्परागत मतदाता ७ जना हुन्। त्यस्तै विगतमा एमालेमा मत दिएका ६ जनाले र कांग्रेसलाई दिएका २ जनाले पनि यसपालि राप्रपालाई मत दिने बताए। कांग्रेस र एमालेका असन्तुष्ट केही मतदाताले ‘कि प्रजातन्त्र कि स्वतन्त्र’ भन्दै टिप्पणी समेत गरे। 

हामीले भेटेका ४३ जना अनिर्णीत मतदातामध्ये सबभन्दा धेरै, १८ जना नेकपा एमालेका हुन्। विगतमा कांग्रेसलाई मत दिएका १७ जनाले पनि आफ्ना उम्मेदवार विनोद चौधरीलाई मत दिने कि नदिने भन्ने टुंगो नभएको बताए। त्यस्तै माओवादीलाई दिएका २ जना, छातामा दिएका २ जना र राप्रपामा मत दिएका २ जना पनि अनिर्णीत अवस्थामा भेट्यौं। बाँकी दुई जनाले भने पहिले कसलाई मत दिएको भनेर खुलाउन चाहेनन्।

हामीले भेटेका कयौं मतदाताहरूले नवलपरासी पश्चिमको मत कता जान्छ भन्ने विषय मौन अवधिका बेला तय हुने टिप्पणी गरे। कतिपय मत जातीय आधारमा र कतिपय मत दलहरूले भोज गराएर प्रभावित पार्ने गरेको धेरैले बताए। कतिपयले नगरपालिकाले बनाउने कतिपय निर्णयले पनि मतदाता प्रभावित भएको बताए।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme