काठमाडौँ, ७ पुष ।
प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि अवस्थामा गठबन्धनलाई निरन्तरता दिने कुरा आफूलाई बताएको कुरा सार्वजनिक गर्दै नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले अहिलेको गठबन्धन तोड्न एमालेले कांग्रेसलाई विभिन्न प्रस्ताव गरेको बताएका छन् ।
समाजवादी प्रेस संगठनले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले एमालेले अहिलेको गठबन्धन तोडे कांग्रेसको नेतृत्वमा एकलौटी सरकार चलाउन दिने प्रस्ताव गरेको बताए ।
‘एमालेले कांग्रेसलाई गठबन्धन तोडे एकलौटी सरकार चलाउन दिने र एमसीसी पारित गर्न सघाउने प्रस्ताव गरेको छ,’ दाहालले भने, ‘तर प्रधानमन्त्री देउवाले कुनै हालतमा गठबन्धन टुटाउने पक्षमा छैनौं भन्नु भएको छ ।’
कार्यक्रममा उनले अहिले पनि एमाले अध्यक्ष ओली प्रतिमगनको बाटोमा रहेको संसद् अवरोधबाट पुष्टि भएको बताए । उनले एमालेले गरेको माग सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार गठन हुँदा पार्टीको ह्वीप नलाग्ने भन्ने फैसलाको विरुद्ध रहेको बताए ।





