देशभरीकाे सवारी दुर्घटना अपडेटः ५ जनाको मृत्यु             

16
file pic

काठमाडौं, ९ माघ

दैलेख, चामुण्डा बिन्दासैनी नगरपालिका-७ तार बजारस्थित सडकमा भे.१ ख १९२१ नम्बरको ट्रकको ठक्करबाट सडक किनाराको ढुङ्गामा बसिरहेकी सोही ठाउँ बस्ने भवानी प्रसाद चौलागाईकी छोरी १६ वर्षीया सर्मीला चौलागाईको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-३ हैबुङस्थित सडकमा हाल नम्बर नखुलेको स्काभेटरले ढुङ्गा निकाल्ने क्रममा माथीबाट ढुङ्गा खसेर लाग्दा स्काभेटर चालक बर्दिया मधुवन नगरपालिका-६ सानोश्री बस्ने ४२ वर्षीय शेर बहादुर श्रेष्ठको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

बाँके, कोहलपुर नगरपालिका-२ एनसिसिएन चोकस्थित सडकमा भे.१ च २८१५ नम्बरको बलेरो जिप र भे.१० प ४६८ नम्बरको मोटरसाइकल एक-आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका-३ बस्ने २० वर्षीय राजन कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय  किशोर थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्याङ्जा, कालिगण्डकी गाउँपालिका-२ कोटाकोट सेरास्थित सडकमा लु.३ त ३७०२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका चालक सोही ठाउँ बस्ने १८ वर्षीय गोबिन्द पाण्डेको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

रुपन्देही, सैनामैना नगरपालिका-४ लुम्बिनीस्थित सडकमा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट  सोही ठाउँ बस्ने २३ वर्षीया लक्ष्मी श्रीस मगरको शनिबार मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । आफूले सामान किन्दै गरेको ठेलालाई लु.८ प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको   हो । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।