आत्महत्या गर्ने साधन बन्दैः भारतीय गण्डक नहर

161

भदाै १, २०७८ ।

पश्चिम नवलपरासीमा रहेकाे गण्डक नहरमा हाम फालेर प्रत्येक वर्ष केही मानिसहरू ज्यान गुमाउने गरेका छन् । गाउंबस्ती नजिकै रहेकाे ठुलाे स्तरकाे १९ किलाेमिटर लामाे याे नहर आत्महत्या गर्ने साधनकाे रूपमा पनि प्रयाेग हुन थालेकाे वर्षाैं भइसक्याे तर यसकाे समाधानका लागि कतैबाट पहल गरिएकाे छैन । महिना बित्न पाएकाे हुदैन, नहरमा हाम फालेकाे घटना सुन्नमा आउंछ । उद्धारका लागि प्रहरी दाैडन्छ, नहरकाे पानी बन्द गराइन्छ, खाेजबीन गरीन्छ, कुनै बेला लास फेला पर्छ, कुनै बेला लास समेत फेला पर्दैन । स्थानीय प्रशासन, प्रहरी र स्थानीय सरकार लास गन्नु भन्दा बाहेक सुरक्षात्मक कुनै उपाय गर्न सकेका छैनन् ।

प्रहरीकाे रेकर्डलाइ हेर्ने हाे भने वर्षेनी ८ देखि १० जनासम्म मानिसहरू ज्यान फाल्न कै लागि नहरमा हाम फाल्ने गरेका छन् । केहीकाे उद्धार गर्न सकिए पनि धेरैलाइ बचाउन सकिदैन । जसले कम्तीमा पनि ४ देखि ५ जनासम्मकाे ज्यान जाने गरेकाे छ । चिप्लिएर, लडेर र नुहाउने क्रममा अझै धेरै मानिसहरू यस नहरमा डुबेर ज्यान गुमाउने गरेकाे प्रहरीकाे तथ्यांकले देखाउंछ । घरपरिवारमा तनाव सिर्जना भएकाे अवस्थामा यस नहरमा हाम फालेर आत्महत्या गर्ने क्रममा कुनै सुधार आउन सकेकाे छैन। जसले स्थिति भयावह बन्दै छ ।

हालै २०७८ सालकाे साउन महिनाकाे मसान्तका दिन एक अपरिचित मानिसले विहान करिब १० बजेतिर नहरमा हाम फाले । केही बेर मै बेपत्ता भए । प्रतापपुर गाउंपालिकाकाे वडा नं. ५ बैदाैलीमा रहेकाे गण्डक नहरमा पुलबाट हाम फाल्ने ति मानिसकाे पहिचान खुल्न सकेन । उनी काे थिए, कहाबाट आए ? केही खुलासा हुन सकेन । हिडदै गरेकाे मानिस एक्कासी पुलबाट हाम फालेपछि अलि पर चाैताराेमा बसीरहेका मानिसहरूकाे ध्यानाकर्षण भयाे । स्थानीयले बचाउने प्रयास गरे तर सफल भएनन् । दाेश्राे दिन पनि खाेजी जारी छ । उनलाइ खाेज्न आफन्त वा अरू काेही मानिस दाेश्राे दिनसम्म पनि नआएकाे प्रहरीकाे भनाइ छ। हरियाे निलाे जस्ताे देखिने शर्ट लगाएका केटा मानिस करिब ४५ या ५० वर्षे उमेरकाे हुन सक्ने अनुमान गरिएकाे छ ।

याे एउटा ताजा घटना हाे तर यस नहरकाे विगत नियाल्दा, कतियाैं घटना सार्वजनिक हुन नपाउंदै अाेझेल पर्छन ।  कतिपय लासहरू नहरमा बगेर आएकाे देखिन्छ, कसैकाे पहिचान खुल्छ, केहीकाे पहिचान पनि खुल्दैन । पहिचान नुखल्दा प्रहरीलाइ समेत सकस हुने गरेकाे छ भने  कतिपय लास कुहिंदा दुर्गन्धले स्थानीयलाइ सास्ती हुने गरेकाे छ ।

यति धेरै मानिसकाे ज्यान जाने र दुर्गन्धले स्थानीयलाइ सास्ती दिने याे नहर सिंचाइका लागि भारतले ६० वर्ष पहिले गण्डक सम्झाैताकाे तहत बनाएकाे हाे । त्रिवेणी व्यारेजबाट पानी बहावका लागि बनाइएकाे यस नहरले १८ हजार क्युसेक पानी बहावकाे क्षमता राख्दछ । याे पानी करिब ३ मीटर गहिराे भएर बग्ने गरेका कारण पानीमा बहाव गति पनि उच्च रहने गर्छ । जसले कुनै पनि कारणले नहरकाे पानीमा फालिने जाे काेहीकाे पनि ज्यान जाेगिने सम्भावना कमै हुन्छ । यसकारण याे नहर यस क्षेत्र कै लागि जाेखिमपुर्ण बनेकाे छ ।

नहरकाे बांधमा संगसंगै बनेकाे पीच सडकमा सवारी साधनहरू निर्वाध रूपमा हुइकिन्छन् । दुबै किनारमा कुनै प्रकारकाे छेकवार नरहेका कारण दुर्घटना हुंदा माेटरगाडीहरू नहरकाे गहिराे पानीमा डुब्ने गरेका छन् । एक पटक बाेलबमकाे लागि हिंडेकाे यात्रुवाहक बस दुर्घटनाग्रस्त हुंदा यसै नहरमा ४० जना यात्रुहरूले ज्यान गुमाउनु परेकाे थियाे । ति सबै यात्रुहरू भारतबाट आएका थिए । माेटरसाइकल तथा ट्रेक्टर दुर्घटना हुंदा साेझै नहरमा डुब्ने गरेकाले यस संगै रहेकाे सडककाे यात्रा जाेखिमपुर्ण बनेकाे छ ।

भिडियाे समाचारका लागिः https://fb.watch/7s-7k_I5BQ/