राष्ट्रिय एकता अभियान सम्बद्ध राष्ट्रिय विद्यार्थी परिषद्ले बेल्ट एण्ड रोड इनिसियटिभ परियोजना बीआरआईको सम्झौता सार्वजनिक गर्न माग गरेको छ ।
तत्कालीन नेकपाले चीनसँग चर्को ब्याजदरमा गरेको ऋण सम्झौताको गोप्य राखिएको दस्तावेज सार्वजनिक गर्न परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाले माग गरेका हुन् ।
श्रीलंकाकै हालतमा नेपाललाई पुर्याउने बीआरआईमा कम्युनिस्टहरुले गरेको राष्ट्रघात सार्वजनिक गर्न उनले माग गरेका हुन् । उनले भने ‘तत्कालीन कम्युनिस्ट सरकारले चीनसँग गरेको गोप्य समझौताको आधिकारिक काग़ज़ सम्पूर्ण जनतालाई अध्ययनको लागि तुरन्त उपलब्ध गराऊ ।’
राष्ट्रघाती बीआरआई समझौता सार्वजनिक गर्न माग गर्दै परिषद्ले आज बारा जिल्लाको सदरमुकाम कलैयाको भरत चौकमा प्रदर्शनसमेत गरेको छ।
कुशवाहाको नेतृत्वमा भएको विरोध प्रदर्शनमा राष्ट्रीघाती बीआरआई समझौता सार्वजनिक गर, चिनियाँ विस्तारवाद बन्द गर, मिचिएको भूमि फिर्ता गर, अघोषित नाकाबन्दी खुल्ला गर, नेपाली विधार्थीहरुको पठन पाठन सूचारु गर, जस्ता नारा लगाई प्रदर्शन भएको थियो ।
प्रदर्शनको क्रममा परिषदले चिनियाँ राष्ट्रिपति सी जिनफिङको पुतला समेत दहन गरेकाे छ ।





