काठमाडौ : वर्तमान समय ब्याट्रीबाट चल्ने सवारीसाधनहरूका लागि हो र यस अवस्थामा विश्वको हरेक सहर ब्याट्रीबाट चल्ने गाडीको आयात, विकास र प्रयोगको कोसिसमा लागिपरेका छन् । बिजुली साधनहरू र तिनीहरूको ब्याट्रीको विकास निर्माणमा चीन सबैभन्दा अगाडि छ तर भारत पनि हर सम्भव प्रयास गर्दै बिजुली साधनहरूको ब्याट्री निर्माणमा विश्वभरिमा चीन भन्दा अगाडि जान प्रयासरत छ । र भारतलाई यस प्रयासमा अब जापानको पनि साथ मिलेको छ ।
वर्तमान समय अमेरिका, जर्मनी, इटली, फ्रान्स, दक्षिण कोरिया समेत धेरै देशहरू ब्याट्री प्रविधिबाट चल्ने सवारी साधनहरुका लागि अग्रसर छन् । तर फेरि इलेक्ट्रिक कारहरूको ब्याट्रीको कुरा आउँदा अनि हाइब्रिड कारहरू बनाउने कुरा आउँदा यी दुवै कुराहरूमा विश्वभरि नै चीन सरकारको दबदबा छ ।
चीन पछि जर्मनी, अमेरिका, जापान, फ्रान्स र दक्षिण कोरिया को पनि नम्बर आउँछ । एउटा आँकडाका अनुसार सन् २०१९ मा ब्याट्रीबाट चल्ने साधनहरूको सख्याँ ३३ लाख थियो जुन पछिल्लो वर्षको तथ्याकंको तुलनामा ४६ प्रतिशतले बढेको छ । यही समयमा विश्वको कुनै पनि देशमा सर्वाधिक धेरै बिजुली सवारीहरू छन् भने त्यो चीन नै हो ।
बिजुलीका साधनहरूको सबैभन्दा ठुलो कमजोरी हो तिनीहरूको फुल चार्ज हुन लाग्ने समय, जुन ८ देखि १२ घण्टा सम्म लाग्ने गर्दछ । एउटा सहर वाट अर्को सहरमा जाँदा यदि ब्याट्री चार्ज गर्नुपरेमा केवल आधा या चौथाइ चार्ज गर्न मात्र कम्तीमा २ घण्टा लाग्ने गर्दछ । यस समस्याको निराकरणका लागि ब्याट्री स्वापींगको प्रक्रिया प्रयोग गरिन्छ । भारतमा पनि आजभोलि बिजुली साधनहरूको प्रयोग निकै बढ्दो छ र यसरी लामो दुरीमा प्रयोग हुने साधनहरूको ब्याट्री स्वापींगका लागि भारत र जापानले सहकार्य गर्ने भएका छन् ।
जापान को होंडा मोटर कम्पनी को सहकम्पनी होंडा पावर पाक एनर्जी इन्डिया प्रा लि ले हिन्दुस्तान पेट्रोलियम कर्पोरेसन लिमिटेड सँग एउटा सम्झौतामा हस्ताक्षर गरेको छ जसले भारतको सबै प्रमुख सहरहरूमा ब्याट्री शेयरिगं सेवा सुरुवात गर्ने लक्ष्य राखेको छ । तीन पाङ्ग्रे साधनहरू र ई रिक्साका ब्याट्री शेयरिंगबाट यस सेवाको प्रारम्भ गरिनेछ । यसरी शेयरिंगमा पूर्ण रूपमा खर्च भइसकेको ब्याट्रीलाई अर्को फुल चार्ज भएको ब्याट्रीले प्रतिस्थापन गरिन्छ । यसो गर्दा खर्च भइसकेको ब्याट्रीको फुल चार्ज हुन लाग्ने समयलाई बचत गर्न सम्भव हुन्छ ।
होंडा मोटर कम्पनीले चीनसँग भने यस्तो कुनै प्रकारको सम्झौता गरेको छैन र उक्त कम्पनी भारतसँग मिलेर काम गर्न चाहन्छ । जापानले आगामी दिनहरूमा भारतले बिजुली साधनको प्रविधिमा भारत चीनभन्दा अगाडि जाने बुझेर नै बिजुली प्रविधिमा चीनलाई छाडेर भारतलाई साथ दिन अगाडि आएको विशेषज्ञहरूको विश्लेषण छ ।
सन् २०४० सम्ममा कार्बन शून्य यातायात संयन्त्रको विकास गर्ने लक्ष्यका साथ भारत अघि बढिरहेको छ । चीन भने आफ्नो विशाल कार्य शक्तिको बलमा बिजुली प्रविधिको विकासका लागि अगाडि बढिरहेको छ यद्यपि विश्वका अन्य थुप्रै देशहरू बिजुली प्रविधिको विकासका लागि भारतको साथ दिन अघि बढिरहेको पाइन्छन् । चीनले यस प्रविधिमा आधारभुत संरचना खडा गरिसकेको छ तर भारत भने यस प्रविधिको विकास र प्रयोगका लागि अन्य देशहरूसँगको सहकार्यमा प्रविधि बाँड्न अग्रसर भइरहेको छ, यसको फाइदा भारतलाई पक्कै हुनेछ ।





