चितवन, ९ माघ ।
पूर्व पूर्वपश्चिम राजमार्गमा सडक विस्तारको लागि बनाइएको नाली छेउको खाल्डोमा परेर अन्दाजी १२ वर्षको भाले गैंडा मरेको छ। भरतपुर महानगरपालिका-९ गोन्द्राङमा सडकको नाली बनाउँदाको खाल्डोमा परेर गैंडा मरेको हाे ।
गोन्द्राङदेखि पुल्चोकसम्म ६ लेनको सडक विस्तारको लागि नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा खसेर गैंडा मरेको हो। सडककाे निर्माण कार्य इन्दु सगुन जेभी बुटवलले गरिरहेकाे छ ।
वनमा लगाइएको तार जाली भत्काएर बाहिर आएको थियो। ‘तारजाली भत्काएर बाहिर आएको हुनाले जुधेर भागेको हुनसक्ने आशंका हो ,हामी अनुसन्धान गर्दैछौ|,’ निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले भने, ‘खाल्डो पुरेको भएको गैंडा मर्थेन कि भन्ने देखियो। अर्को गैडासँग जुध्दा नजिकैको वनदेवी सामुदायिक वनबाट भागेको हुनसक्ने आशंका गरिएको छ।
विकास निमार्णको काम संरक्षणमैत्री नभएको देखिएको हुँदा यसमा सचेत गराउँछौं। बाँकी हामी अनुसन्धान गर्छौं।’ उक्त गैंडालाई सामुदायिक वन क्षेत्रमा पोष्टमार्टम गरिएको छ। गैंडाको खाग र खुर निकालेर खाल्डोमा गाडिएको छ।






