नवलपरासी, ६ माघ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीको आयोजनामा गहुँ जोन संचालन समन्वय समिति पुनर्गठन गरिएको छ ।
परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेकाे अध्यक्षतामा जिल्ला समन्वय समिति नवलपरासी (ब.सु.प.) का प्रमुख श्री शिव शंकर प्रसाद राय ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
गहुँ खेतीमा आधुनिकिकरण तथा व्यवसायिकरण गरी उत्पादन तथा उत्पादकत्व बृद्धिका लागि आ.व. २०७६/०७७ देखि नवलपरासी (ब.सु.प.) जिल्लाको ४ वटा स्थानीय तहका ७ वटा वडामा गहुँ जोन संचालनमा रहेको छ । जस अन्तर्गत रामग्राम न.पा-१६ र १८, सुनवल न.पा-११ र १२, सरावल गा.पा- ३ र ४ तथा पाल्हिनन्दन गा.पा- ६ गहुँ जोनका कार्यक्षेत्रहरु हुन ।
आ.व. २०७६/०७७ मा श्री प्रमोद चौधरीको संयोजकत्वमा नौ सदस्यीय गहुँ जोन सञ्चालक समिति गठन भएको र परियोजना कार्यान्वयन म्यानुअल २०७७ ले व्यवस्था गरे बमोजिम आ. व. २०७७/०७८ मा गहुँ जोन संचालन समन्वय समितिमा रुपान्तरण भएकाले गहुँ जोनको लक्ष्य प्राप्त गर्न परियोजना कार्यान्वयन एकाईसँग समन्वयकारी भुमिका निर्वाह गर्न सहयोग पुगोस भन्ने उदेश्यले संचालन समन्वय समितिमा गठन गर्न लागिएको कृ.अ. सुमन खनालले जानकारी दिनु भयो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख शिव शंकर प्रसाद रायले गहुँ जोन क्षेत्रमा मिहेनती कृषकहरु रहेको र लुम्विनी प्रदेशमा नै यस गहुँ जोनलाई यान्त्रिकीकरणसँग जोडेर नमुना जोनका रुपमा स्थापित गर्नुपर्ने कार्यमा जोड दिनुपर्ने र निवर्तमान समितिका पदाधिकारी तथा नयाँ पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा सहभागीहरुले गहुँ खेतीमा यान्त्रिकिकरणमा जोड दिई उत्पादन लागत न्यूनिकरणमा गर्नुपर्ने कुरा व्यक्त गरेका थिए साथै यस कार्यालयले कृषकहरुमा गरेका योगदानको प्रशंसा गर्दै अन्य केही नीतिगत समस्या समाधानको पहलकदमी लिन कार्यालयको ध्यानाकर्षण गराएका थिए । पुनर्गठन कार्यक्रमबाट पाल्हीनन्दन गाँउपालिका-६ का अगुवा कृषक रामसेवक यादवको संयोजकत्वमा चार जना महिला सहित नौ सदस्यीय गहुँ जोन संचालन समन्वय समिति सर्वसम्मतीबाट चयन भएको छ।
निवर्तमान समितिका सदस्यहरुको योगदानको कदर गर्दै प्रमुख अतिथि रायले कदर पत्र तथा वरिष्ठ कृषि अधिकृत काफ्लेले खादा ओढाएर सम्मान गर्नु भएको थियो। विशेष अतिथि कृषि ज्ञान केन्द्र, नवलपरासी (ब.सु.प.) का प्रमुख श्री शिव प्रसाद अर्यालले संघियतामा तिन तहकै सरकारको लक्षित वर्ग एउटै हुनाले सबैले आपसी समन्वयमा कार्यक्रमहरु संचालन गरी अनुदानमा हुने दोहोरोपनालाई हटाउनुपर्ने कार्यमा जोड दिनुपर्ने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै वरिष्ठ कृषि अधिकृत काफ्लेले कार्यक्रम कार्यान्वयनमा निवर्तमान समितिको सक्रिय भूमिकाको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिई नवगठित सञ्चालन समतिलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो। गहुँ उत्पादक कृषकहरुलाई यान्त्रिकिकरण, व्यावसायिकरण तथा आधुनिकीकरण गरी उत्पादन तथा उत्पादकत्व बृद्धि गरी उत्पादन लागतमा न्यूनिकरण गर्न सञ्चालन समितिको भूमिका महत्वपूर्ण रहेको एकाईले समितिसँग हरपल समन्वय गर्दै जाने प्रतिबद्दता व्यक्त गर्नु भयो।
कार्यक्रममा बिशेष अतिथि कृषि ज्ञान केन्द्र, नवलपरासी (ब.सु.प.) का प्रमुख श्री शिव प्रसाद अर्याल र गहुँ जोन संचालन समन्वय समितिका निवर्तमान पदाधिकारीहरु, तथा गहुँ जोनमा आवद्द सहकारी/समुह/फर्महरुको जोन क्षेत्रका विभिन्न स्थानीय तहमा भएको भेलाबाट चयन भई आएका प्रतिनिधिहरुको उपस्थितिमा परियोजनाका कृषि अधिकृत सुमन खनाल र कृषि प्राविधिक जिवन कुमार डुम्रेको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रमको संचालन कृषि अधिकृत रण बहादुर महतोले गर्नु भएको थियो ।





