जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगर नगर समितिका पूर्वअध्यक्ष एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जयसवाल सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीले आज (शनिबार) कोटहीमाई गाउँपालिका–५ स्थित मझगावामा आयोजना गरेको अगुवा नेता–कार्यकर्ता भेटघाट एवम् निर्वाचनकेन्द्रित प्रशिक्षणमा उनलाई अध्यक्ष सिके राउतले पार्टी प्रवेश गराएका हुन् ।
स्थानीय तह निर्वाचन–२०७९ अघिमात्र जसपा परित्याग गरी स्वतन्त्र बसेका जयसवालाई पार्टी केन्द्रीय सचिव भोपेन्द्र यादव, केन्द्रीय सदस्य रामकेश गुप्ता, नेताहरू रामदेव यादव र विकासप्रसाद लोधलगायतले पार्टीमा स्वागत गरेका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा उनी तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालबाट सिद्धार्थनगर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा उम्मेदवारसमेत भएका थिए । उनको जनमत प्रवेशले प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा नयाँ चर्चा चुलिएको छ ।

उनी जनमतका तर्फबाट सो क्षेत्रको प्रदेशभा सदस्य पदका लागि सम्भावित उम्मेदवार हुन् । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेता–कार्यकर्ता यो पार्टीमा प्रवेश गरेको केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले जानकारी दिए ।





