प्रतापपुर गाउँपालिकाकाे पहिलाे १०० दिनः विकास गतिकाे बेलीविस्तार

76

नवलपरासी

प्रतापपुर गाउँपालिकाले जिम्मेवारीकाे पहिलाे १०० दिनमा अाफुले गरेकाे कामकाे उपलब्धि जनता सामु सार्वजनिक गरेकाे छ । प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी घिमिरेकाे अध्यक्षतामा सञ्चालित स्थानीय सरकारका १०० दिन विषयक कार्यक्रममा प्रमुख अतिथी रहनु भएका गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले आफूले सय दिनमा गरेका काम सार्वजनिक गरेका हुन्।

शुक्रबार एक कार्यक्रमबिच अध्यक्ष यादवले आफूले सय दिनमा गरेका कामलाई सार्वजनिक गर्दै जनताकै कामलाई शीरोधार्य गरि अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतापपुुर गाउँपालिकामा यस अवधिमा सम्पादन भएका मुख्य मुख्य ३७ वटा कामहरुकाे मूल अंश (जस्ताको त्यस्तै )

१) विकासको आधारभूत आवश्यकताको रुपमा रहेको पूर्वाधार विना समृद्ध प्रतापपुरको निर्माण असम्भव रहेको छ सर्वप्रथम प्रतापपुर गाउँपालिकाको आफ्नै प्रशासकीय भवन नहुँदा सेवा प्रवाहमा कठिनाई भइरहेको विषम् परिस्थितिमा वर्तमान स्थानीय सरकारले कार्यभार सम्हालेका थियौँ । कार्यपालिकाको पहिलो बैठकले हाल प्रतापपुर स्थास्थ्य चौकी भएको स्थानमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने निर्णय गरेको थियो । प्रशासकीय भवन निर्माण गर्न आवश्यक सम्पूर्ण प्रक्रियाहरू पुरा भई रु १४,६८,४९,१९९.७४ टेण्डर सुचना प्रकाशन गरी कार्यान्वयनको चरणमा रहेको छ ।

२) प्रतापपुर गाउँपालिकाभित्र पर्ने हुलाकी बाटो निर्माण कार्यलाई शिघ्र सम्पन्न गर्न संघीय सरकारसँग विशेष पहल गरिएको छ र तत्कालिन अवस्थाका लागि आवत जावतमा सहजिकरणका लागि निर्माण कम्पनीसँग समन्वय गरी हुलकी बाटो मर्मत गरिएको छ ।

३) गाउँपालिकाभित्र निर्माण गरिने बाटो, पुल पुलेसा, भवन निर्माणको लागि मापदण्ड निर्धारण गरिएको छ । जसबाट गुणस्तरिय पूर्वाधार निर्माण भई दिगो विकासमा सघाउ पुगेको छ ।

४) प्रतापपुर गाउँपालिका वडा नं. ५ र ८ मा निर्माणाधीन वडा कार्यालय छिटै सम्पन्न गरी वडाको आफ्नै भवनमा सेवा प्रवाह गरिने छ । संघ तथा प्रदेश सरकारसँग समन्वय गरी समपूरक कोषबाट पूर्वाधार निर्माण कार्यलाई प्राथमिकता दिइएको छ ।

५) आर्थिक वर्ष २०७८/०७९ सम्म सडक कालोपत्रे ४.८ कि.मि. ढल निर्माण ४.४ कि.मि. सड़क पि.सि.सि. ६.८ कि.मि. र २२.२१ कि.मि. सडक ग्रावेल भएको जुन आर्थिक बर्षको अन्त्यमा निर्माण कार्यले तिव्रता पाएको थियो ।

६) यस प्रतापपुर गाउँपालिकाको चक्रपथ निर्माणका लागि DPR र EIA प्रक्रिया अगाडि बढेको र छिट्टै कार्यान्वयनको चरणमा रहेको छ ।

(७) तराई मधेश समृद्धि कार्यक्रम र गा.पा. को समपुरक कोषबाट प्रतापपुर ५ गणेश मा.वि. बसहियामा शैक्षिक भवन निर्माण कार्य सम्पन्न भएको छ जसले शैक्षिक गुणस्तरमा टेवा पुगेको छ ।

८) जगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र सेमरीमा १५ सैया अस्पताल निर्माण कार्य तीव्र रुपमा अगाडि बढेको छ। विगतको स्थानीय सरकारले DPR Review नभएका कारण अलपत्र परेको १५ सैया अस्पताल निर्माण कार्यलाई स्वास्थ्य मन्त्रालयसँग आवश्यक समन्वय गरी DPR Review मार्फत बजेट निकासा सुनिश्चित गरी निर्माण कार्यलाई तीव्रता दिएको छ ।

९) प्रतापपुर स्वास्थ्य चौकीमा ल्याब अपग्रेडको लागि बजेट सुनिश्चित गरी स्वास्थ्य सेवामा गुणस्तर कायम गरी जनजीवनलाई सहजिकरण गर्ने वर्तमान सरकारको लक्ष्य रहेको छ

१०) प्रतापपुर गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरी कोभिङ- १९ नियन्त्रण र रोकथामका लागि नियमित रुपमा खोप कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाइएको छ । विरामीको संख्या र स्वास्थ्यकर्मीको अनुपात मिलान गर्न आवश्यक जनशक्ति परिचालन गर्न स्वास्थ्य क्षेत्रमा करार जनशक्ति थप गरिएको छ ।

११) लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयसँग विषेश समन्वय र पहलमा प्राथमिक स्वास्थ्य केन्द्र सेमरी Digital X ray मेसिन जडान गरी स्वास्थ्य सेवालाई गुणस्तर र आधुनिक बनाउदै लगिएको छ । प्रतापपुर गाउँपालिकाको वडा नं. ७ र ९ को लागि एम्बुलेन्स खरिद प्रक्रिया अगाडि बढाई निकट समयमै सेवा संचालन गर्न गइरहेको छ त्यसैगरी सूर्यपुरा स्वास्थ्य चौकी भवन, सोमनी स्वास्थ्य चौकी भवन र भिट्टा स्वास्थ्य चौकी भवन निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाइएको छ

१२) प्रतापपुर बासीले अपेक्षा गरे अनुरूप गुणस्तर सहितको स्वास्थ्य सेवामा पहुँच र एकरुपता कायम गर्न स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य आधारभूत केन्द्रको क्षमता अभिवृद्धि, जनशक्ति व्यवस्थापन तथा पूर्वाधारका विकासका लागि घोषणा पत्र बमोजिम स्वास्थ्य क्षेत्रमा सुधारका लागि वर्तमान स्थानीय सरकारका सय दिन निकै उपलब्धीमूलक भए ।

१३) निर्वाचनमा जनतामाझ जाँदा व्यक्त गरेको घोषणापत्रमा शिक्षालाई प्राथमिकता दिए बमोजिम बर्तमान सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकताका साथ शैक्षिक सुधारका लागि विभिन्न प्रयासहरू गरिएको छ ।

१४) शिक्षा क्षेत्रमा सुधार गर्न विज्ञ र प्राज्ञिक क्षेत्रका व्यक्तिसँग राय, सल्लाह र सुझाव लिई शैक्षिक विकास तर्फ गाउँपालिकालाई केन्द्रित बनाई शिक्षा सुधार समिति गठन गरी शिक्षा क्षेत्रमा रहेका समस्या र समाधानका उपायहरू खोज्न र प्रतिवेदन गर्न निर्देशन दिई कार्य योजना निर्माण कार्य अगाडि बढाइएको छ ।

१५) शैक्षिक हिसाबले पछाडि परेको प्रतापपुर गाउँपालिकालाई सुधार गर्न सार्वजनिक विद्यालयमा लगानी अभिवृद्धि गर्दै र निजि विद्यालयलाई नियमन गर्न शिक्षा ऐनलाई संशोधन गर्ने कार्य अगाडि बढाइएको छ । विद्यार्थी संख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान तथा पुर्नवितरण कार्य, सबै प्रकारका विद्यालयमा भौतिक पूर्वाधार सहितको आकर्षक सिकाई वातावरण विकास तथा शिक्षक इकाई पद्धत्तिलाई व्यवहारिक र बालमैत्री एवं प्रविधिमा आधारित बनाउन प्रदेश तथा संघीय सरकारसँग समन्वय र सहकार्यलाई अगाडि बढाइएको छ ।

१६) प्रतापपुर गाउँपालिका विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्नु, कक्षा छाड्ने दर न्युन पारी अपेक्षित सिकाई उपलब्धी हाँसिल गर्न र प्राविधिक शिक्षा र व्यवसायिक तालिमका लागि आ.व. २०७९/०८० मा बजेट विनियोजन गरी गरिएको र हाल कार्यान्वयनको चरणमा अगाडि बढाइएको छ । शिक्षा क्षेत्रलाई नियमन गर्न प्रत्येक विद्यालयमा विद्युतिय हाजिरी तथा CCTV Camera: जडान गरी दैनिकी निरीक्षण गर्ने कार्य गरिएको छ ।

१७) प्रतापपुर गाउँपालिकाको स्थानीय पाठ्यक्रम निर्माण गरी सबै विद्यालयमा कक्षा १ देखि ८ सम्म हाम्रो प्रतापपुर नामक पुस्तक अध्यापनलाई अनिवार्य रुपमा लागु गरिएको छ । जसबाट विद्यार्थीलाई प्रतापपुर गाउँपालिकाको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको ज्ञान हाँसिल भई समृद्ध प्रतापपुर निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

१८) शिक्षा क्षेत्रमा सुशासन कायम गर्न छड्के निरीक्षण कार्यलाई अगाडि बढाइएको छ । जसबाट विगतमा रहेको शैक्षिक बेथिति नियन्त्रण गरी शिक्षाको गुणस्तर कायम गर्न सहयोग पुगेको छ । शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता राखी यस आर्थिक वर्षमा ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको छ । बालिका शिक्षालाई प्रोत्साहान गर्ने उद्धेश्य +2 उत्तिर्ण सम्पुर्ण छात्रालाई उच्च शिक्षा अध्ययन तर्फ प्रोत्साहान गर्न साइकल वितरण कार्य गरिनेछ ।

१९) प्रतापपुर गाउँपालिकाको मुख्य पेशाको रुपमा रहेको कृषि क्षेत्र आर्थिक समृद्धि हाँसिल गर्ने मूल आधार रहेको छ । यस क्षेत्रमा उत्पादन हुने प्रमुख खाद्य र नगदे बालीको उत्पादन र उत्पादकत्वमा वृद्धि गर्न उन्नत वीउ विजन, कृषि औजार वितरण कार्य गरिएको छ ।

२०) प्रतापपुर गाउँपालिकाको वडा नं. ८ मा केरा पकेट, प्रतापपुर वडा नं. ३ मा धान पकेट क्षेत्रमा कृषि उत्पादन बढाउन आधुनिक कृषि औजार वितरण कार्य सम्पन्न गरिएको र यसबाट धेरै कृषकहरु लाभान्वित भएका छन् । निर्वाहमुखि कृषि पेशालाई व्यवसायिक आधुनिक बनाउन संघ तथा प्रदेशसँग समन्वय र सहकार्य गरी विभिन्न कार्यक्रमहरू संचालन गरिएको छ।

२१) आ.व. २०७९/०८० कृषि घर परिवार पहिचान गरी कृषक परिचय पत्र वितरण कार्यलाई अगाडि बढाउन बजेटको व्यवस्था गरिएको छ । कृषक परिचय पत्रका आधारमा कृषकको वर्गिकरण गरी लक्षित कार्यक्रम संचालन गरिने छ ।

२२) माटो परीक्षण प्रयोगशाला निर्माणको लागि अगाडि बढाइएको छ । कृषि उपजको बजारिकरणको लागि प्रतापपुर गाउँपालिका वडा नं. ७ सूर्यपुरामा तरकारी संकलन केन्द्रको स्थापना गरिएको छ तीन सय भन्दा बढी कृषक परिवारलाई आधुनिक कृषि मोटर पम्पसेट, पानी तान्ने मोटर, च्यापकटर, स्प्रेमेसिन जस्ता कृषि औजार वितरण गरिएको छ ।

२३) गरिब घर परिवार पहिचानका लागि प्रतापपुर गाउँपालिकाभित्र ८६६२ घर परिवारको तथ्याङ्क लिने कार्य सम्पन्न भई आगामी चरणमा भूमि व्यवस्था, सहकारी तथा गरिबि निवारण मन्त्रालयसँग सहकार्यमा गरिब घर परिवार परिचय पत्र वितरण कार्यलाई सम्पन्न गरिने छ।

२४) उखु किसानको बाँकी बक्यौता रकम भुक्तानी गर्नका लागि मिल संचालकलाई ताकेता गरी यथासीघ्र भुक्तानीका लागि पहल गरिएको र निकट समयमै उखु किसानको सबै बाँकी बक्यौता रकम चुक्ता गर्ने विशेष पहल गरिएको छ ।

२५) न्यायीक समितिमा विवाद निरुपणका लागि छिटो छरितो कार्य प्रणाली अवलम्बन गरिएको छ । विगतमा रहेका अ.ल्या. परेको निवेदन ५९ र हाल सय दिनमा परेका ८६ उजुरी उपर कारवाही गरी अधिकांश किनारा लागेको छ ।

२६) प्रतापपुर गाउँपालिकाका विशेष गरी बडा नं. २.२.४ पाटीबाट बर्गेनी जोखिममा रहेको छ । विपद पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरी विपद व्यवस्थापन गर्ने कार्यलाई अगाडि बढाइएको छ ।

२७) प्रतापपुर गाउँपालिकाभित्र आपतकालिन संरचना केन्द्र संचालन कार्यविधि निर्माण गरी र संरचना स्थापना गरी विपद पूर्व तयारी उद्दार र राहत कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

(२८) विपद व्यवस्थापन संचालन कोष ऐन मार्फत विषद कोष स्थापना गरिएको छ । विपद व्यवस्थापनका लागि संघ तथा प्रदेश सरकारसँग समन्वय र सहकार्य गरिएको छ ।

२९) विपद क्षेत्रको पहिचान गर्न नक्साकन गरी विपद प्रभावित क्षेत्रमा बसोवास गर्ने जनतालाई स्थानान्तरण गर्न सम्बन्धित निकाय पहल गरिएको छ ।

३०) सुरक्षित जनता आवास कार्यक्रम अन्तर्गत प्रतापपुर गाउँपालिकाबाट १७८ जनाले पहिलो चरणको आवास निर्माणका लागि भुक्तानी लगेको र ३८ जनाले निर्माण सम्पन्न गरी पुरा भुक्तानी गरिएको छ ।

३१) गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १२६ जनालाई सिपमुलक तालिम प्रदान गरी लघु उद्यमी निर्माण गरियो । जसबाट उद्यमशिलता प्रवर्धन भई प्रतापपुर गाउँपालिकाको गरिबी निवारणमा टेवा पुगेको छ ।

३२) गरिब तथा आर्थिक रुपले विपन्न महिलाको जीविकोपार्जनका लागि गाउँपालिकाले ३२ सिलाई मेसिन वितरण गरिएको छ ।

३३) प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत प्रतापपुर गाउँपालिकाभित्र रहेका बेरोजगार जनशक्तिको सुचिकरण गरी न्युनतम् १०० दिन रोजगार दिने कार्यक्रमलाई कार्यक्रम अन्तर्गत १४१ जनालाई रोजगार दिएको र गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरी सो कार्यक्रमलाई उत्पादनमूलक क्षेत्रमा लगानी बढाउने कार्यक्रम अगाडि बढाइएको छ ।

३४) वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था र विषयगत शाखाका काम कारवाही CCTV मार्फत अनुगमन गर्ने परिपाटी विकास गरी विद्युतिय शासनलाई प्राथमिकता दिइएको छ ।

३५) विगतमा फजुल खर्च बढी भएको जनगुनासो सम्बोधन गर्न सार्वजनिक चालु खर्चमा व्यापक कटौती, अनियमित र फजुल खर्चमा नियन्त्रण राखी आर्थिक अनुशासन र वित्तिय उत्तरदायित्व प्रवर्धन गरिएको छ ।

३६) आर्थिक अनुशासन कायम गर्न र आन्तरिक नियन्त्रणलाई प्रभावकारी बनाउन विगतमा ठुलो संख्यामा रहेको बेरुजुलाई नियमित र असुल उपर गरी समपरीक्षण मार्फत बेरुजु फछौट गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

३७) आन्तरिक राजस्वको गत आ.व.को तुलनामा ४०.६ प्रतिशत वृद्धि भई गाउँपालिकालाई क्रमशः आर्थिक रुपमा आत्मनिर्भर बनाउने लक्ष्य अनुसार कार्य अगाडि बढाइएको छ ।

# आगामी दिनमा प्रतापपुर गाउँपालिकाका प्राथमिकताका क्षेत्रहरू निम्नानुसार छन्

> कृषि क्षेत्रलाई व्यवसायीक, आधुनिकरण, विविधिकरण गर्न किसान सुचिकरण कार्यक्रम, माटो परीक्षण प्रयोगशाला, उन्नत वीउ विजन कार्यक्रम, बाली संरक्षण कार्यक्रम, कृषि विद्युतिकरण, मागमा कृषि अनुदान कार्यक्रमहरू संचालन हुनेछन् ।

> पशु हाटबजार व्यवस्थापन, पशु स्वास्थ्य शिविर, पशुपंक्षी खोप कार्यक्रम, पशुपालन सम्बन्धी तालिम, पशुपंक्षी विमा जस्ता कार्यक्रमहरू संचालन हुनेछन् ।

> शिक्षा तथा खेलकुद सुधार तर्फ अध्यक्ष शैक्षिक बेरोजगार सम्बोधन कार्यक्रम, शैक्षिक छात्रवृत्ति, छात्रा साइकल वितरण, अध्यक्ष कप खेलकुद प्रतियोगिता, विद्यालय विद्युतिकरण, स्थानीय पाठ्यपुस्तक लेखन जस्ता कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएने छ ।

→ स्वास्थ्य तर्फ नियमित खोप कार्यक्रम, पोषण कार्यक्रम, वैकल्पिक चिकित्साको रुपमा रहेको आर्युवेद क्षेत्रको प्रवर्धन जस्ता कार्यक्रम संचालन गरिने छ

> लघु उद्यम कोष स्थापना गरी लघु उद्यम तथा सीपमूलक तालिम संचालन गरी घरेलु तथा साना उद्योग प्रवर्धन गरिनेछ ।

> लैंगिक सम्मानता र सामाजिक समावेशिकरण तर्फ उपाध्यक्ष गर्भवती सुत्केरी भेटघाट कार्यक्रम, लोकसेवा आयोग कक्षा संचालन, वालमैत्री स्थानीय शासन, सामी परियोजना कार्यान्वयन जस्ता कार्यक्रम संचालन हुनेछन् ।

→ गाउँपालिकाको चक्रपथ निर्माण कार्यलाई यथासीघ्र सम्पन्न गरी सम्पूर्ण टोल बस्तीमा सडक संजाल विस्तार कार्यलाई सम्पन्न गरिनेछ ।

> भवन पूर्वाधार निर्माण तर्फ गाउँपालिका भवन निर्माण, आर्युवेद भवन निर्माण, खोप केन्द्र भवन निर्माण कार्यलाई प्राथमिकताका साथ यथासीघ्र सम्पन्न हुने गरी कार्य योजना अगाडि बढाइएको छ।

प्रतापपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चिरन्जिवि घिमिरेले कर्मचारीले प्रत्येक दिनको कामको विवरण राख्नुपर्ने र प्रत्येक मासिक रुपमा खर्च सार्वजनिक हुने कुरा बताएका थिए । उनले बाेल्दै पालिकाकाे हरेक काममा पार्दर्शिता र सुशासन कायम राख्ने प्रतिबद्धता जनाएका थिए ।