काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सञ्चालन हुनेछ ।
यसअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । उक्त बैठकले केन्द्रीय समिति बैठकमा छलफल हुने एजेण्डामाथि सहमति कायम गर्ने उद्देश्य राखेको छ । कार्यसम्पादन समितिको बैठक पनि सानेपामै बस्नेछ ।
‘जेन–जी’ युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि सुरु भएको कांग्रेसको केन्द्रीय समिति बैठक आज निरन्तरता पाउँदैछ । हिजो (असोज २९ गते) एक दिनको विश्रामपछि बैठक पुनः सुरु हुन लागेको हो ।
असोज २८ गतेको बैठकमा सभापति शेरबहादुर देउवा ‘जेन–जी’ आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका थिए । सो बैठकलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका थिए । उनको सम्बोधनलगत्तै बैठक स्थगित गरिएको थियो ।















