काठमाडौंमा गान्धी जयन्तीको अवसरमा कला प्रदर्शनी

16

१९ गते असोज २०७८

नेपालका लागि भारतीय कार्यबाहक राजदूत नामग्य खम्पाले नेपाल आर्ट काउन्सिलमा १५२औँ गान्धी जयन्तीको अवसरमा आयोजित ‘असल जगतका लागि महात्मा गान्धीको सिद्धान्त’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन् ।

भारतीय राजदूतावास बिपी कोइराला भारत–नेपाल फाउन्डेसनको सहयोगमा सिभाता लभ फाउन्डेसनले कला प्रदर्शनीको आयोजना गरेको हो । उक्त प्रदर्शनी सर्वसाधारणका लागि १७ देखि २२ असोजसम्म खुला रहनेछ ।

गान्धी जयन्तीको अवसरमा नेसनल हस्पिटल तथा क्यान्सर रिसर्च सेन्टरले भारतीय राजदूतावासको सहयोगमा काठमाडौंको कमलपोखरीस्थित अग्रवाल भवनमा स्तन तथा पाठेघर क्यान्सर जाँच एवं जनचेतना कार्यक्रम गरेको छ । भारतीय राजदूतावासकै सहयोगमा भारतीय नागरिक संघ नेपाल (आइक्यान)ले सोही भवनमा रक्तदान शिविरको आयोजनासमेत गरेको छ ।

नेपाल–भारत पुस्तकालयमा अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिएको छ । अन्तरक्रिया कार्यक्रममा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको भारतीय दुतावासले जनाएको छ ।

प्रगतिशील भारतको ७५ वर्ष र भारतका जनता, संस्कृति र उपलब्धिहरूको गौरवशाली इतिहासको सम्झना गर्न भारत सरकारले अघि सारेको ‘आजादीका महोत्सव’ को एक कार्यक्रमको रूपमा गान्धी जयन्ती मनाइएको भारतीय दूतावासले जनाएको छ । नयाँपत्रीका