गठबन्धनमा सिट बाँडफाँटको सकस : आज कार्यदल र शीर्ष नेताको बैठक बस्दै

32

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभाका सिट बाँडफाँटको टुंगो लगाउने तयारी गरेको छ। सीट बाँडफाँडको टुंगो लगाउन आज गठबन्धनको कार्यदल र शीर्ष नेताको बैठक बोलाइएको हो।  सिट बाँडफाँट गर्न कार्यदलको बैठक आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।

मंसिर ४ गते निर्धारित प्रतिनिधिसभा-प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँट गर्न कार्यदल बनाएको एक महिना बित्यो। तर, दलीय अडानका कारण अझै टुंगो लाग्न सकेको छैन। दलहरूले निर्वाचन क्षेत्रभन्दा बढी दाबी गरेका छन्। गठबन्धनमा रहेको कांग्रेसले १०० सिट, माओवादीले ६० सिट, नेकपा (एस)ले ४० सिट तथा जसपाले ३२ सिट दाबी गरेको छ। यस्तै जनमोर्चाले २ सिट दाबी गर्दै आएका छन्।

यस अगाडि कार्यदललाई भदौ पहिलो साताभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो। 

कांग्रेसका नेता डा.शेखर कोइरालाले गठबन्धन गर्दा जितेको ठाउँमा कांग्रेसले छाड्न नहुने बताएका छन्। उनले सय सिटभन्दा कम गरेर कांग्रेसले गठबन्धन गर्न नसक्ने बताउँदै आएका छन्। कोइरालाले सयभन्दा कम सिटमा गठबन्धन भयो भने पार्टीभित्रै विद्रोह सुरु हुने अभिव्यक्ति दिँदै आएका छन्।। 

शीर्ष नेताको बैठक बस्दै

गठबन्धनका शीर्ष नेताको बैठक पनि बुधबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ। साँझ ५ बजे गठबन्धनमा आबद्ध शीर्ष नेताको बैठक बस्ने बालुवाटार स्रोतले जनाएको छ।

गठबन्धनमा अहिले ५ दल छन्। तर, कांग्रेस सभापति शेरबहादुर देउवाले मधेस दल शक्ति लोकतान्त्रिक समाजवादी पार्टीलाई समेत गठबन्धनमा जोडेर जानुपर्ने भन्दै आएका छन्। बाबुराम भट्टराई नेतृत्वमा गठन भएको नेसपाले पनि गठबन्धनमा बार्गिनिङ गरिरहेको छ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सबै दलले भदौ २० गतेभित्र उम्मेदवारको सिफारिस निर्देशन दिइसकेका छन्।