पप्पु रेग्मी, १९ माघ बर्दघाट ।
पश्चिम नवलपरासीमा प्रतिबन्धित लागुऔषधि सहित दुई जनालाई बर्दघाट प्रहरीले पक्राउ गरेको छ ।
नवलपरासीको बर्दघाट नगरपालिकाको वार्ड नम्बर ४ हरियालीनगरबाट प्रहरीले घरमा लुकाई राखेको अवस्थामा लागु औषधि सहित सन्तोष तुलाधर एवं सुरज रजाली मगरलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले बताए ।
बर्दघाट प्रहरीले गोप्य सुचनाको आधारमा प्रहरीले तुलाधर एवं मगरको घरमा खानतलासी गरी लागुऔषधि एवं नगद बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको लागु औषधिहरुमा प्रोक्सिमेड स्पास ६ वटा पोकामा १ हजार ९ सय २७ वटा क्याप्सुल, कोडिवेल १०० मिलिलिटरको सिसी एक, कोडिन फास्फेट एवं क्लोरोफेनिरामिन नाइट्राभेट १० नाम गरेकाे २३ टेबलेट र ५० ग्राम गाँजा रहेकाे छ भने नगद ११ हजार १ सय २५ रूपिया बरामद गरेकाे छ ।
हरियालीनगर स्थित तुलाचन्दको घरमा खानतलासी गर्दा उनी सुत्ने खाटको मुनि भुईमा खाल्डो खनेर लुकाई राखेको अवस्थामा ति लागु औषधिहरु फेला परेको र घटनाबारे थप अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।





