नेपालका लागि नयाँ भारतीय राजदूतमा नवीन श्रीवास्तव नियुक्त

133

भारतीय कूटनीतिज्ञ नवीन श्रीवास्तवको नाम नेपालका लागि नयाँ भारतीय राजदूतका रुपमा चर्चामा आएको छ।

श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन मामिला विज्ञका रुपमा परिचित छन्। उनी हाल विदेश मन्त्रालयको इस्ट एसिया डेस्कमा एडिसनल सेक्रेटरी छन्।

उनी सन् २०१५ देखि कम्बोडियाका लागि भारतीय राजदूत नियुक्त भएका थिए। त्यसअघि उनी चीनको साङ्घाइस्थित भारतीय महावाणिज्यदूत थिए।

श्रीवास्तवले भारत-चीन सैनिकबीच सन् २०२० मे मा सीमावर्ती लद्दाख क्षेत्रस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भिडन्त भएपछि सिर्जित तत्कालीन संकट सामान्य पार्न वार्ताका लागि भूमिका निर्वाह गरेका थिए।

चैत तेश्रो साता भारत सरकारले नेपालस्थित राजदूत विनय मोहन क्वात्रालाई विदेश सचिवमा बढुवा गरेपछि उक्त पद रिक्त छ। श्रीवास्तव सन् १९९३ देखि विदेश मन्त्रालयमा छन्।

यद्यपि भारत सरकारले उनको नियुक्तीबारे औपचारिक निर्णय गरिनसकेको समाचारमा जनाइएको छ।