काठमाडौं । यस वर्षको वैशाखयता हालसम्म देशभर विभिन्न विपद्जन्य घटनामा परेर २८५ जनाको मृत्यु भएको छ भने २७ जना बेपत्ता रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद् घटनाहरूले देशभर ठूलो जनधनको क्षति पु¥याएका छन्।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार, आज (शनिबार) मात्र ४४ जनाको मृत्यु भएको र ५ जना बेपत्ता रहेको पुष्टि भएको छ। उनले जानकारी दिँदै भनिन्, “सबैभन्दा बढी इलाममा ३७ जनाको पहिरोमा ज्यान गएको छ,”। उनका अनुसार हाल देशका ५० जिल्लामा विपद्जन्य घटनाहरूको प्रभाव परेको छ।
प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार, वैशाखयता सबैभन्दा बढी ८६ जनाको मृत्यु सर्पदंशका कारण भएको छ। त्यसपछि पहिरोका कारण ४६ जना र चट्याङका कारण ४५ जना को मृत्यु भएको छ।
त्यसैगरी, बाढीका कारण ३०, भारी वर्षाबाट ६, आगलागीबाट २३, हावाहुरीका कारण ८, जनावरको आक्रमणबाट २२, र लेक लागेर १९ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ।
यस्तै, बाढीबाट २३ जना, पहिरोका कारण ३ जना, र जनावरको आक्रमणबाट १ जना बेपत्ता भएका छन्।
हालसम्म देशभर ४ हजार ६५ वटा विपद्जन्य घटना दर्ता भएका छन्, जसमा परेर १ हजार ७२ जना घाइते भएका छन्।
कूल ७ हजार २११ परिवार विभिन्न विपद्बाट प्रत्यक्ष प्रभावित भएको प्राधिकरणकी प्रवक्ता महतले जानकारी दिएकी छन्।















