सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिष्पर्धा गर्न तयारः विश्वकर्मा

21
लुम्बिनी, २४ माघ ।
नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार रहेको बताएका छन् । एमाले तिलोत्तमा नगर कमिटीद्वारा सोमबार शंकरनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई संबोधन गर्दै सचिव विश्वकर्माले यस्तो बताएका हुन् ।
एमालेसँग प्रतिष्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल नेकपा एमाले एक्लै निर्वाचन लड्न तयार रहेको बताए । एमाले कुनै शक्तिसँग झुक्दैन, आगामी निर्वाचनमा जुनसुकै गठबन्धन गरेर आएपनि एमाले एक्लै प्रतिष्पर्धा गर्न तयार छ”–उनले भने ।
विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतैपनि देखिन छाडेको बताए । ‘सरकार छ कि छैन भन्ने कुराको जनतालाई वास्ता छैन र सरकारप्रति आम विश्वास पनि छैन्’–विश्वकर्माले भने । उनले एमसिसीबारे दोहोरो कुरा गरेर सत्तारुढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको पनि आरोप लगाए ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसिसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसिसी विरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनले टिप्पणी गरे । कार्यक्रममा बोल्दै एमाले पोलिटब्यूरो सदस्य लिला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए ।
पार्टीमा कसैलाई काखापाखा वा भेदभाव नगरिने पनि गिरीले बताए । अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले देशव्यापी रुपमा एमाले प्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख बताए । आफ्नो दलमा प्रवेश गर्नेहरुलाई नयाँ र पुरानोको आधारमा भेदभाव नगरिने र कामको आधारमा मूल्यांकन र जिम्मेवारी प्रदान गरिने न्यौपानेले बताए ।
सो अवसरमा न्यू सिजना युवा क्लवका अध्यक्ष लप्सन गुरुङसहित करिव एकसय जना युवालाई एमाले सचिव विश्वकर्मा सहितका नेताहरुले पार्टी प्रवेश गराउँदै स्वागत गरेका थिए । एमाले तिलोत्तमा नगर कमिटी अध्यक्ष तामानाथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष तेजेन्द्र केसी, तिलोत्तमा नगर उपाध्यक्ष नेत्रलाल बन, सचिव मिनप्रसाद पोखरेल, नवप्रवेशी लप्सन गुरुङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।