कांग्रेस नेता गिरीको पशुपतिनाथमा राजकीय सम्मानका साथ अन्त्येष्टि

33

नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीको आज पशुपतिनाथमा अन्त्येष्टि गरिएको छ। सानेपाबाट सुरु भएको शवयात्रा सातदोबाटो, कोटेश्वर, एयरपोर्ट हुँदै गौशाला भएर पशुपति आर्यघाटमा लगिएको हो।

पशुपति आर्यघाटमा गिरिको शवमा उनका छोरा सन्तोष सिलवाल गिरिले दागबत्ती दिएका छन् ।

अन्त्येष्टि अघिको पशुपतिमा नै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका उच्च पदस्थ व्यक्तिहरुले गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

समाजवादी चिन्तक एवं कांग्रेस नेता गिरीको शनिबार राति ७५ वर्षको उमेरमा निधन भएको हो। प्रतिनिधिसभा सदस्यसमेत रहेका गिरी पाँच वर्षदेखि घाँटीको क्यान्सर रोगबाट पीडित थिए। भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा क्यान्सरको उपचार गराएर फर्किएपछि उनको छातीमा निमोनिया संक्रमण देखिएको थियो। त्यसपछि ललितपुरस्थित मेडिसिटी अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

उपचारमा संलग्न डा. सन्दर्भ गिरीका अनुसार शनिबार राति ९ बजेर ३० मिनेटमा निधन भएको हो। प्रतिनिधिसभा सदस्य गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान ९ बजेदेखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्राङ्गण र ११:३० देखि २ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपा राखिएको थियो।

उनको पार्थिव शरिरमा माल्यार्पण गर्न ठूलो संख्यामा शुभेच्छुक पुगेका थिए।