रूपन्देहीमा कांग्रेस उम्मेदवारकाे नाम सिफारिश, खाँण आफै अलमलमा

67

भैरहवा
पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेकाे रूपन्देहीमा गएको निर्वाचनमा क्षेत्र नम्बर १, २ र ३ मा एमालेले जितेको थियो भने क्षेत्र नम्बर ४ र ५ मा कांग्रेसले जितेको थियो । गृहमन्त्री रहनु भएका बालकृष्ण खाँण २०७४ को चुनावमा समानुपातिक सूचीबाट सांसद भएका हुन् । 

कांग्रेस रूपन्देही–२ का कार्यवाहक क्षेत्रीय अध्यक्ष पर्शुराम ढकालका अनुसार, प्रतिनिधिसभा निर्वाचन २०७९ का लागि बालकृष्ण खाँणसहित यस क्षेत्रबाट युवराज गिरी, कृष्णप्रसाद पोखरेल, गोकर्ण पौडेल र चुन्न प्रसाद पौडेलको नाम सिफारिस भएको छ । २०७४ को चुनावमा यस क्षेत्रबाट गिरी उम्मेदवार भएका थिए । एमाले नेता विष्णु पौडेलसँग गिरी पराजित भएका थिए ।

यसैगरी, समानुपातिकतर्फ डा. बुद्धबहादुर थापा, चिरञ्जीवी जोशी, मनोरमा शेरचन, अर्जुन रानाभाट, रीता सेन ओली, राममाया पौडेल अर्याल, नुमा थापा, हुमकला सुवेदी र लक्ष्मी जोशीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेशतर्फ दीर्घबहादुर केसी, प्रकाश राना, चित्रबहादुर केसी, शरद भट्टराई, सुदिप शर्मा, माधव देवकोटा र काजीमान श्रेष्ठको नाम सिफारिस भएको छ । प्रदेश ख बाट रामबहादुर कार्की, गोविन्द लम्साल, रामेश्वर श्रेष्ठ, महेशमान सिंह, रञ्जन काफ्ले, गोर्कण बञ्जाडे, मुक्ति अधिकारी, मुक्ति पौडेल र कृष्ण बेल्वासेको नाम सिफारिस भएको छ । प्रदेश समानुपातिकमा क्षेत्रीय सभापति पर्शुराम ढकाल, सचिव भट्टराईसहितको नाम सिफारिस भएको छ ।

रूपन्देही–२ लाई एमालेले आफ्नो आधार क्षेत्र मान्दै आएको छ । यो क्षेत्रबाट २०६४ यता निरन्तर एमाले नेता पौडेलले चुनाव जित्दै आएका छन् । २०५६ सालको प्रतिनिधिसभा चुनावमा कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भएका पौडेल त्यस यताका चुनाव जित्दै आएका छन् । । तर गएको स्थानीय तहको चुनावमा रूपन्देही–२ मा पर्ने बुटवल उपमहानगरमा एमालेको हारपछि कांग्रेस पंक्ति एमालेको आधार क्षेत्र मान्न तयार छैन् ।

त्यसैगरी, क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा सांसद प्रमोद यादवको एकल नाम सिफारिस भएको छ । प्रदेशसभामा अष्टभूजा पाठक र बसिउद्दीन खाँको नाम सिफारिस भएको छ । क्षेत्रीय समितिले सिफारिस गरेको नामलाई आवश्यक थपघटपछि जिल्ला समितिले प्रदेश समितिमा पठाउने छ ।

रुपन्देही– ५ मा भरतकुमार शाहको एकल नाम सिफारिस भएको छ । गएको चुनावमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार डिलाराम आचार्यलाई १३ हजार मतान्तरले पराजित गरेका थिए । उनले २०७० को चुनावमा एमालेका रामनाथ ढकाललाई पराजित गरेका थिए । सोही क्षेत्रको प्रदेशसभा ख मा कांग्रेसले फकरूद्दिन खानलाई एकल सिफारिस गरेको छ । प्रदेश क तर्फ युवा नेता विष्णु प्रसाद पोख्रेलसहित तीन जनाको नाम सिफारिस भएको छ ।

‘राजनीति नयाँ ढंगले अघि बढेको छ, सधैँ एउटै पार्टीको प्रभाव ठान्नु हुँदैन् ।’–कांग्रेस क्षेत्रीय सचिव विमलराज भट्टराईले भने ।
बुटवलको कांग्रेसको एउटा पंक्ति खाँणलाई यही क्षेत्रबाट उम्मेदवार बनाउन चाहन्छ । यसै योजनाका साथ खाँणको नाम एक नम्बरमा राखेर सिफारिश भएको हो । तर यस क्षेत्रका केही कांग्रेस नेताहरुका अनुसार, खाँणको प्राथमिकता यो क्षेत्र होइन् । सकेसम्म उनले रूपन्देही–३ बाटै उम्मेदवार हुन्छन् । त्यहाँबाट असहज भए रूपन्देही–१ जान्छन् तर रूपन्देही–२ प्राथमिकतामा पर्दैन, भनीरहेका छन् ।

‘खाँण अहिले पार्टीभित्र र गठबन्धनका दललाई समेत सन्तुलनमा राखेर अघि बढ्न खोजीरहेका छन् । त्यसकारण अहिले नै रूपन्देही–२ मा उठ्छन् भन्न सकिन्न ।’–कांग्रेस रूपन्देही जिल्ला कार्यसमितिका एक सदस्यले भने । अर्का एक जिल्ला सदस्यका अनुसार, खाँणले एमाले–राप्रपा तालमेल भएमा रूपन्देही–३ लाई जोखिम मानेका छन् । जहाँ राप्रपाको मत १५ हजार हाराहारीमा छ । पार्टीभित्रको आन्तरिक किचलो चुनावको बेला व्यक्त हुनसक्ने जोखिम पनि छ । त्यसअनुसार, केही दिन पर्ख र हेरको अवस्थामा बसेर उनले चुनावी रणनीति बनाइरहेका छन् ।

खाँडकाे उम्मेदवारी कहाँबाट हुने ?

रूपन्देही–२ बाट कांग्रेस क्षेत्रीय समितिले खाँणको नाम सिफारिस भएपछि यहाँको राजनीतिमा नयाँ तरंग आएको छ । यो क्षेत्रमा खाँणसहित पाँच जनाको नाम सिफारिस भएको छ ।

कांग्रेस नेताहरुका अनुसार, रुपन्देही १ र ३ बाट पनि खाँणको नाम सिफारिस हुँदैछ । रूपन्देही–३ बाट उनको नाम सर्वसम्मत हुने तयारी छ । रूपन्देही–१ क्षेत्रीय समितिले पनि सिफारिसको तयारी गरेको छ । राप्रपाको एमालेसँग तालमेल भएको अवस्थामा रूपन्देही–१ र रूपन्देही–३ मध्ये कुनबाट उम्मेदवार हुन्छन् भन्ने खाँणले हेरिरहेका छन् । जसरी उनी सकेसम्म रूपन्देही–२ मा एमालेका पौडेलसँग भिड्न नपरोस् भन्ने चाहन्छन् । त्यसैगरी, राप्रपाका बोहरासँग पनि भिड्ने मुडमा छैनन् । खाँण राजनीतिमा रिस्क मोल्नुपर्छ भन्ने स्वभावका भएका भए पनि अहिलेको चुनावमा उनी ‘सेफ जोन’ मा अघि बढ्न चाहन्छन् । गृहमन्त्री भइरहदा अहिलेकाे चुनाव जसरी पनि जित्नुपर्ने साेंचमा देखिएका छन् ।

रूपन्देही–३ लाई खाँणले अहिले आफ्नो निर्वाचन क्षेत्र मानिरहेको बेला एकाएक रूपन्देही–२ बाट सिफारिस भएपछि यहाँबाट उनले चुनाव लड्ने योजना बनाएको कांग्रेस नेताहरुले बताएका छन् । रूपन्देही–२ बुटवल उप–महानगर समेत पर्ने क्षेत्र हो । मुलुकको प्रमुख व्यापारिक र आर्थिक केन्द्र बुटवलबाट चुनावमा उठेर जित्ने नेताले राष्ट्रिय हैसियत र पहुँच बनाउन सहज हुने विश्वास गरिन्छ । खाँणले क्षेत्रीय समिति सभापतिलाई सम्बोधन गर्दै आफू यहाँबाट उम्मेदवार बन्न इच्छुक भएको भन्दै आवेदन दिएपछि क्षेत्रीय समितिले पहिलो नम्बरमा नाम राख्दै सिफारिस गरेको हो ।

बहुदलको आगमनपछि २०४८ सालमा पहिलो आम निर्वाचन भयो । यो चुनावमा पनि खाँण बुटवलबाटै उम्मेदवार भएका थिए । त्यसबेला उनले पूराना कम्युनिष्ट नेता एमाले उम्मेदवार केशरमणि पोखरेललाई पराजित गर्न सफल भएका थिए । २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा एमालेका मोदनाथ प्रश्रितसँग पराजित भए । त्यसपछि उनी २०६४ सालमा भएको संविधानसभाको चुनावमा तत्कालीन रूपन्देही–३ अर्थात मणिग्राम क्षेत्रबाट उम्मेदवार भएका खाँणले एमाले उम्मेदवार लिला गिरीलाई पराजित गरे ।

२०७० सालमा एमालेकै उम्मेदवार घनश्याम भुसाललाई पराजित गरे । राज्य पुनःसंरचनामा भैरहवा नगर सहितको क्षेत्र अहिले रूपन्देही–३ मा पर्छ । यही क्षेत्रलाई चुनावी क्षेत्र मानेर राजनैतिक गतिविधि गर्दै आएका खाँण २०७४ को चुनावमा भने उठेनन् । समानुपातिक सूचीबाट सांसद भए । त्यसबेला राप्रपासँग चुनाव तालमेल गरी दिपक बोहरालाई छाडेका खाँण अहिले रूपन्देही–३ बाटै चुनावमा उठ्ने कांग्रेस नेताहरुले बताउँदै आएका थिए ।