सरावल, पश्चिम नवलपरासी —
पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित सरावल टोलका महिलाहरुले लामो समयदेखि वर्षा नपरेको कारण गाउँको पुरानो सामाजिक परम्परा अनुसार जनप्रतिनिधिहरुलाई बाँधी पानीले नुहाइदिने परम्परा पालना गरेका छन्।
गाउँमा पानी नपरेर खेतिपाती ठप्प हुँदा सुख्खाको सम्भावना देखिएपछि महिलाहरुले गाउँपालिका अध्यक्ष सुखाडी चौधरी, उपाध्यक्ष हरिजन, वडा अध्यक्षसहित अन्य जनप्रतिनिधिहरुलाई रोकेर पानीले नुहाइदिएका थिए। सुशान्त घिमिरे भन्छन्, यसरी पानीले नुहाइदिएपछि तत्कालै हावासहितको वर्षा भएको थियो, जसले गाउँमा हर्षोल्लास फैलिएको छ।
स्थानीय समाजमा लामो समयदेखि प्रचलित परम्पराअनुसार, पानी नपरेमा गाउँका अगुवा, मुखिया वा ठुला मान्यजनलाई पानीले नुहाइदिने र इन्द्रदेवसँग वर्षाका लागि प्रार्थना गर्ने चलन रहँदै आएको छ।

पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कंडेलले पनि परम्परा र संस्कृतिको महत्व औंल्याउँदै भने, “हाम्रा आफ्ना परम्परा, संस्कृति र रीतिरिवाज हाम्रो गाउँठाउँमा अझै पनि कायमै छन्। यसले नयाँ पुस्तालाई समेत उत्साहित बनाउँदै आएको छ। वर्षा नपरेका बेला इन्द्रदेवसँग प्रार्थना गर्दै अगुवालाई नुहाइदिएर पानी पर्छ भन्ने विश्वास अहिले पनि जीवितै छ।”
स्थानीयवासीहरुको भनाइमा, “पानीले जनप्रतिनिधिलाई नुहाइदिएको केही घण्टामै वर्षा हुनुले हाम्रो संस्कृति र परम्पराको शक्ति प्रमाणित गरेको छ।”
विगतका वर्षमा पनि यस्ता परम्परागत विधिहरू अपनाउँदा वर्षा भएको उदाहरणहरू रहेको भन्दै गाउँलेहरूले यस परम्परालाई निरन्तरता दिने बताएका छन्।















